बिक्री नहुँदा किसानको घरमै थन्कियो मह

दाङ– घोराही उप–महानगरपालिका–ं१८ मसिना निवासी पञ्चराम नेपालीले उत्पादन गरेको मह बिक्री नहुँदा घरमै थन्किएको छ । उनले उत्पादन गरेको करिव २ क्वीटल मह बिक्री भएको छैन । आफूले उत्पादन गरेको डेढ क्वीटल मात्र मह बिक्री गरेको उनले बताए ।
उनले ५७ वटा घार माहुरी पालन गरेका छन् । ‘फेरि मह काड्ने बेला भएको छ तर कात्तिक– मंसिरमा काडेको मह बिक्री हुन सकेको छैन’ नेपालीले भने । मह बिक्री नहुँदा खर्च धान्नसमेत समस्या भएको उनको गुनासो छ । माहुरी पाल्दा खर्च भएको रकम महबाट उठाउने योजना भएपनि बिक्री नहुँदा बैंकको व्याज तिर्नसमेत समस्या भएको उनी बताउँछन् । विगतका वर्षहरुमा यस प्रकारको समस्या भोग्नु नपरेको उनी बताउँछन् ।
‘पहिले घर बाटै नै सबै मह बिक्री हुने गरेको थियो तर पछिल्ला वर्षमा बिक्री हुन सकेको छैन’ कृषक नेपालीले भने । कृषकको मह बिक्री नहुँदा समेत कतैबाट प्रयास हुन नसकेको उनले बताए । दाङका अर्का किसान माधव सुवेदीको पनि ५ क्वीटल मह घरमा थन्किएको छ । घरमा आउने केही ग्राहकलाई थोरै मात्रामा बिक्री गरेपनि उत्पादन भएको सबै मह बिक्री हुन नसकेको उनी बताउँछन् ।
‘व्यापारीहरुले सस्तोमा मह माग्ने गरेका छन्, तर दिएको छैन’ सुवेदीले भने, ‘हाम्रो लगानीकोसमेत मूल्य व्यापारीले नदिएकाले मह बिक्री गर्न सकिएन ।’ कृषकबाट सस्तोमा मह किनेर व्यापारीले महंगो मूल्यमा बिक्री गर्ने गरेका छन् । कृषकको मह बिक्री नहुँदा पनि कुनै निकायले बिक्रीका लागि पहल नगरि दिएको सुवेदीको गुनासो छ । ‘महको बजारीकरणमा सहयोग गरिदिए कृषकलाई धेरै सहयोग हुने थियो’ सुवेदीले भने । यसतर्फ कुनै पनि सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ ।
मह बिक्री नहुँदा माहुरीका लागि गरेको खर्चको व्याज तिर्नसमेत समस्या भएको उनले बताए । उनले अहिले १ सय घार माहुरीपालन गदै आएका छन् ।
जिल्लामा करिब १८ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ बताउँछन् । धेरै मेलीफेरा जातको माहुरीको घार रहेको उनले बताए । जिल्लामा वार्षिक पाँच सय मेट्रिक टन भन्दा बढी मह उत्पादन हुने गरेको महासंघको भनाइ छ । दाङमा करिब एक हजार माहुरी पालन कृषक रहेका छन् । माहुरी पालन गर्ने कृषकको संख्या ६ सय बढी रहेको बताइएको छ । उनका अनुसार मेलीपेरा माहुरी पालन गर्ने ५२० भन्दा बढी रहेका छन् भने सेराना जातका व्यावसायिक रूपमा पालन गर्ने १५० बढी छन् ।
५० भन्दा बढी घार पालन गर्नेलाई व्यावसायिक कृषकको रूपमा लिने गरिन्छ । पछिल्लो समय माहुरी पालन गर्ने कृषकको संख्या बढ्दै गएको उनको भनाइ छ । माहुरी पालन कृषक बढ्दै गएका छन् भने व्यवसायमा समेत समस्या हुँदै गएको महासंघ दाङका अध्यक्ष श्रेष्ठ बताउँछन् । माहुरी चरणका लागि सामुदायिक वन, क्लबहरूले समेत रकम लिने गरेको छन् । धेरै निकायसँग मह बिक्री नभएको बारे जानकारी गराएपनि समस्याको समाधान हुन नसकेको कृषकहरु बताउँछन् ।
काठमाडौं र देशका अन्य शहरमा नक्कली मह बरामद भएको सूचना आएसँगै जिल्लामा उत्पादन भएको शुद्ध महले बजार बताइएको छ । भारतको मह सहज रुपमा भित्रिनु, नक्कली मह पक्राउ गरेपछि किसानले उत्पादन गरेको मह बिक्रीमा कमी भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । पछिल्लो समय आर्थिक मन्दीका कारण नागरिकको आयस्रोत घटेको कारणले पनि मह खान खोडेको अध्यक्ष श्रेष्ठको तर्क छ । ‘शुद्ध महको बारेमा प्रचार प्रसारसमेत हुन सकेको छैन’ अध्यक्ष श्रेष्ठले भने ।