Logo

सेनाको श्रमदानबाट दुई हेलिप्याड

स्याङ्जा– नेपाली सेनाले स्याङ्जामा दुईवटा हेलिप्याड निर्माण गरेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा सेनाले श्रमदानबाट दुईवटा हेलिप्याड निर्माण गरेको हो । दुवै पालिका दुर्गम भएकाले पालिकाको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानबाट हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपति सेनानी दिपेश खड्काले जानकारी दिए ।

केही समय अगाडि अर्जुनचौपारीमा निर्माण सम्पन्नपछि पालिकालाई हस्तान्तरण गरिएको थियो भने हरिनासमा हालै हस्तान्तरण गरिएको उनले बताए । दुवै पालिकामा ६० फिटको लम्बाइ र चौडाइ भएका हेलिप्याड निर्माण गरिएको छ । अर्जुनचौपारीको कमले बजारमा र हरिनास गाउँपालिकाको ४ नम्बर वाडको चुलीडाँडामा निर्माण गरिएको सेनानी खड्काले बताए ।

स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा ‘एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुरुप जिल्लाको दुई पालिकामा हेलिप्याड निर्माण भएको उनले बताए । यो जिल्लाको आवश्यकता अनुसार क्रमिकरूपले अन्य पालिकामा पनि निर्माण हुनेछ । हरिनास गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार व्यारेक तनहुँका बाहिनीपति सहायक रथी गौरवकुमार केसीले गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई हस्तान्तरण गरेका छन् ।

विपद्मा उद्धार, बिरामीको छिटो उपचारलगायत अन्य विषयमा आपतकालीन अवस्थामा हेलिप्याडको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाली सेनाले हरेक पालिकामा हेलिप्याड बनाउने लक्ष्य लिएको केसीले बताए । आकस्मिक घटनामा उद्धार गर्न ठूला हेलिकप्टर आवश्यक पर्ने भएकाले हेलिप्याड बनाइएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्