Logo

प्रदेश नम्बर ७ मा सुक्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्र विकास गरिने:  आर्थिक मामिला तथा योजनामन्त्री बोहरा

प्रदेश ७ का नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कर बढाएर नभई करको दायरा बढाएर प्रदेशलाई आर्थिक विकास र समृद्धितर्फ लगिने बताएका छन । आइतबार पदभार ग्रहणपछि कारोबारसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बोहराले प्रदेश सातमा पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी अघि बढ्ने बताएका हुन् ।
प्रदेश सातमा सुक्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्र निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने मन्त्री बोहराले बताए । प्रदेशको आर्थिक समृद्धि र यहाँका जनताको आय स्थर वृद्धिका लागि प्रदेश अर्थ मन्त्रालयले विशेष आर्थिक नीति बनाएर अघि बढ्नेसमेत उनले बताए । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्नका लागि विशेष पहल गरिनेसमेत अर्थमन्त्री बोहराले प्रतिक्रिया दिए ।
अर्थ मन्त्रालयले केही दिनभित्रै रणनीतिक कार्ययोजना ल्याउने र त्यही अनुरूप काम कार्य अघि बढाइने जानकारी दिँदै अर्थमन्त्री बोहराले भने, “असार १ गते भित्र बजेट तर्जुमा गरी पेस गरिने भए पनि तत्कालका लागि जनतालाई अनुभूति हुने खालका कार्यक्रम ल्याइने छन् ।” प्रदेश सरकार र संघीयताका विषयमा अनेकथरी टिप्पणी आइरहेको भन्दै मन्त्री बोहराले चुनौतीका चाङलाई अवसरका रूपमा उपयोग गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।
हिमाल, पहाड र तराई समेटिएको प्रदेशमा भूगोल अनुसारका उपयुक्त कार्यक्रमहरू ल्याइने भन्दै उनले जनताका इच्छा आकाँक्षाहरूलाई मध्यनजर गरी प्रदेश सरकार अघि बढ्ने बताए । अर्थविद्समेत रहेका मन्त्री बोहरा अछाम क्षेत्रनम्बर १ को प्रदेशसभा १ बाट माओवादी केन्द्रको सांसद हुन् । मन्त्री बोहरासहित मुख्यमन्त्री र अन्य मन्त्रीहरूले शनिबार शपथ ग्रहण गरी आइतबार पदभारसमेत सम्हाली सकेका छन् ।

होम साउद 

प्रतिक्रिया दिनुहोस्