Logo

नेपालगन्ज भन्सारको लक्ष्य अधुरै

नेपालगन्ज– चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा पनि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य अधुरै रहेको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएपछि लक्ष्य पुरा हुन नसकेको हो ।

कार्यालयले दोस्रो चौमासिक अवधि पुरा हुँदा पनि लक्ष्यको ६१.७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार फागुनसम्म ११ अर्ब ५९ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । जवकी लक्ष्य भने १८ अर्ब ७७ करोड रहेको छ ।

चालु आर्थिक वर्षको लक्ष्यभन्दा निकै कम राजस्व संकलन भए पनि गत वर्षको सोही अवधिको तुलनामा भने १.३५ प्रतिशत बढी राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए । गत आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ११ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ११ अर्ब ५९ करोड राजस्व संकलन भएको उनले बताए ।

भन्सार विभागले यो वर्ष नेपालगन्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व असुली गर्ने वार्षिक लक्ष्य दिए पनि फागुनसम्म ४०.४४ प्रतिशत मात्रै राजस्व संकलन गरेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्म संकलन भएको राजस्व हेर्दा चालु आर्थिक वर्षको कुनै पनि महिनामा कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

कार्यालयका अनुसार चालु आवको साउनमा १ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब ४१ करोड मात्र असुली गरेको थियो । त्यस्तै, भदौमा २ अर्ब २२ करोड लक्ष्य राखेकोमा १ अर्ब ४५ करोड, असोजमा २ अर्ब ४४ करोड लक्ष्य राखेकोमा १ अर्ब ४८ करोड, कात्तिकमा २ अर्ब ३८ करोड लक्ष्य राखेकोमा १ अर्ब २४ करोड मात्र राजस्व संकलन गरेको थियो ।

त्यसैगरी मंसिरमा २ अर्ब ५२ करोड संकलन गर्ने लक्ष्य रहेकोमा त्यो पनि पुरा हुन सकेन । पुसमा २ अर्ब ५६ करोडको लक्ष्यमा १ अर्ब ५३ करोड, माघमा २ अर्ब ३१ करोडको लक्ष्यमा १ अर्ब ३१ करोड, फागुनमा २ अर्ब ५० करोडको लक्ष्यमा १ अर्ब ५८ करोड रुपैयाँ मात्र असुली गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले दोस्रो चौमासिकसम्म यस नाकाबाट ४६ अर्ब १७ करोडबराबरको सामान आयात भएको छ । गत वर्षको फागुनसम्मको अवधिमा ४३ अर्ब ३० करोडबराबरको सामान आयात भएको थियो । यो वर्षको फागुनसम्ममा एक अर्ब ५६ करोडबराबरको सामान निर्यात भएको छ भने गत वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्