Logo

मकै उत्पादन बढाउन निजी क्षेत्रको आग्रह

काठमाडौं– मकै उत्पादन बढाउन अनुसन्धान र विकासमा जोड दिनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा महासंघका अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

ढकालले करिब ९ लाख ८० हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने र नेपालमा वार्षिक करिब ३० लाख टन मकै उत्पादन हुने गरेको बताए । नेपालमा मकै मुख्यतया मानिसको खाना, गाईबस्तुको दाना र चाराका लागि प्रयोग हुने गरेको उनको भनाइ थियो । वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने १४० फिड मिलमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ लगानी गरेको ढकालले जानकारी दिए ।

तर, फिड मिलका लागि आवश्यक पर्ने कुल मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति हुने गरेको उनले बताए । बाँकी भारत र अन्य मुलुकबाट आयात हुने गरेको उनको जिकिर थियो । नेपालमा औद्योगिक मकैको माग हरेक वर्ष बढ्दै गएको पनि उनले जानकारी दिए । ढकालले आर्थिक वर्ष २०२१/२२ मा नेपालले मुख्यतया दाना उद्योगका लागि १९ अर्ब ६५ करोड रुपैयाँको मकै आयात गरेको जानकारी गराए ।

मकै उत्पादनपछिको गतिविधिलाई प्रवर्द्धन गर्न केही पहल भइसकेको एवं सरकार र विकास साझेदारको ध्यान उत्पादनको पक्षमा रहेको ढकालको भनाइ थियो । उनले मकै उत्पादन बढाउन मकैमा कार्यरत सबै विकास निकायलाई अनुसन्धान र विकासका लागि सहयोग गर्न आग्रह गरे । ढकालले कटनीपछिका गतिविधिलाई प्रवर्द्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह गरे । देशले त्यसो गर्न सकेमा आयात प्रतिस्थापन गर्न सकिने र मकैमा निर्भर किसानले बढी आम्दानी गर्न सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्