Logo

तीन महिनादेखि रोकिएको आईपीओ खुल्दै

काठमाडौं- धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि रोकिएको कम्पनीहरूको प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया अब सुरु हुने भएको छ । बोर्डले अंकित मूल्य (१००) मा नै आईपीओ अनुमति मागेका कम्पनीहरूलाई निष्कासन अनुमति दिन लागेको हो ।

यसका लागि अब प्रक्रिया सुरू गरिने बोर्डले जनाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आईपीओ र हकप्रद सेयर निष्कासनको अनुमति नरोक्न बोर्डलाई निर्देशन दिएका थिए । अहिले धितोपत्र बोर्डमा ३५ कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् । तीमध्ये ५ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारीसहित अनुमति मागेका छन् । बोर्डका अनुसार ३५ कम्पनीले २७ अर्ब ६९ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

सबैभन्दा धेरै जगदम्बा स्टिलले २ करोड ७ लाख कित्ता आईपीओ अनुमति मागेको छ । आईपीओ अनुमति माग्नेमा जलविद्युत कम्पनीहरू धेरै छन् । १७ जलविद्युत कम्पनीले अनुमति मागेका छन् । यसैगरी अन्य समूहका ७, होटल तथा टुरिजम २, लगानी समूहको १ र १ लघुवित्त कम्पनीले आईपीओ निष्काशनको अनुमति मागेका छन् । यी सबै कम्पनीले आईपीओ निष्कासन अनुमति पाए धितोपत्र बजारमा १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता सेयर थपिनेछ ।

बोर्डका अनुसार नेप्सेमा सूचीकृत १३ कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । यी कम्पनीले ११ अर्ब ३६ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न बोर्डमा आवेदन दिएका हुन् । आवेदन दिनेमा ९ जलविद्युत कम्पनी छन् भने ४ बीमा कम्पनी छन् । सबैभन्दा धेरै अनुपातमा हकप्रद सेयर निष्कासन अनुमति माग्नेमा आँखुखोला जलविद्युत छ । यसले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

धितोपत्र बोर्ड अध्यक्षविहीन भएयता कुनै पनि कम्पनीले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएका छैनन् । गत पुस २० मा बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएको थियो । करिब ३ महिनादेखि कुनै पनि कम्पनीलाई आईपीओ र हकप्रद सेयर निष्कासन अनुमति धितोपत्र बोर्डले दिएको छैन ।

अब बोर्डले सञ्चालक समितिको बैठकबाट निर्णय गराएर आईपीओ र हकप्रद निष्काशनको अनुमति दिन बाटो खुला भएको छ । केही समयअघि अर्थमन्त्री पुनले बोर्डको नेतृत्व चयन प्रक्रिया चाँडो टुंग्याउन अर्थसचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएका थिए । बोर्डले अझै नेतृत्व पाइसकेको भने छैन । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्ट, निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रवीन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै पुनले सेयर बजारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । उनले बजार सुधारका लागि कार्ययोजना माग्नेदेखि आईपीओ निष्काशन प्रक्रिया नरोक्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्