केशर खेतीको व्यावसायिक उत्पादन सुरु

इलाममा केशर खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । प्रतिकिलो दश लाखसम्म पर्ने जडिबुटी केशरको व्यावसायिक उत्पादन सुरु भएको हो ।
माईजोगमाई गाउँपालिकाको थुम्केमा यसै वर्षबाट खेती सुरु गरिएको केशरको व्यावसायिक उत्पादन सुरु भएसँगै किसान हर्षित भएका छन् । ‘परीक्षणका रुपमा रोपिएको थियो पहिलो वर्ष नै राम्रो उत्पादन भयो ।’ केशर खेती प्रवद्धन गर्ने संस्था जौवारी मल्टी परपोज एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरका अध्यक्ष हरि कट्वालले भने । इलामको माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रुपमा केशरको खेती सुरु गरिएको छ ।
भारतको कास्मीरबाट ८० किलो केशरको बिउ ल्याएर थुम्के र जौबारीमा यसको खेती सुरु गरिएको हो । हल्का हिउँ पर्ने र तुसारो पर्ने ठाउँमा यसको खेती गर्न सकिने बताइएको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका क्रममा गुणस्तरिय केशर उत्पादन भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष हरि कट्वालका अनुसार कति उत्दपादन यस वर्ष हुन्छ भन्नेमा अन्योल छ । तर पहिलो वर्षमा नै उत्साहजनक रुपमा यसको खेती फस्टाएको उनी बताउँछन् । बीउ पनि महंगो यसबाट उत्पादित केशर पनि महंगो मूल्यमा बिक्री हुने उनले बताए । उनका अनुसार उत्पादित केशर प्रतिमन १० लाखसम्ममा बिक्री गर्न सकिने बताइएको छ ।
केशर उत्पादनका लागि धेरै फूलको आवश्यक्ता पर्दछ । फूल भित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिव डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने संस्थाका सदस्य टुण्डु शेर्पाले बताए । उनका अनुसार हाल संस्थाले ६९ रोपनी जमिन खरिद गरेर यसको व्यावसायिक खेती सुरु गरेको छ । पहिलो वर्ष कति लगानी भयो र उत्पादनसँगै कति नाफा भयो भन्नेबारे यकिन तथ्यांक आइसकेको छैन ।
पहिलो वर्ष पाथीभरा दर्शन प्रालिले बीउ उपलब्ध गराएको हो । सुरुको वर्ष करिव ७ रोपनी जमिनमा यसको खेती गरिएको छ । यस वर्षबाट केशरसँगै अन्य लोप हुन लागेका जडिबुटी समेत खेती गर्ने उनले बताए । लोप हुन लागेका जडिबुटीलाई संरक्षण गर्ने र यस स्थानलाई जडिबुटीको हब निर्माण गर्ने बताए ।
अंग्रेजीमा स्याफ्रोन भनेर चिनिने केशर खेती युरोपबाट सुरु भएपनि नेपालका केही भू–भागमा यसको व्यावसायिक खेती सुरु भएको छ । केशरलाई नशा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ । औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ ।
यस खेतीले गाउँपालिकामा उत्साह बढाएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए । महंगो खेती भएकाले पनि यस खेतीले पर्यटन प्रवद्र्धनसँगै समृद्धितर्फ अगाडी बढाउने उनले बताए । हाल पनि यस खेती हेर्नका लागि धेरै पर्यटक जाने गरेका छन् । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल बनाउन समेत सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । केशर खेती ईलाममा पहिलो पटक उत्पादन भएको हो । हिमाली केही जिल्लामा यसको उत्पादन भने यसअघिबाटै सुरु भएको थियो ।