Logo

पोखराको होटल अकुपेन्सी ५५ प्रतिशत

पोखरा– पोखरामा हाल होटल अकुपेन्सी ५५ प्रतिशत रहेको छ । होटल संघ पोखरा नेपालले नयाँ वर्षको अवसरमा आयोजना गर्ने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र पारेको जानकारी दिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरेर पोखरा क्षेत्रका पर्यटकीय होटलको अकुपेन्सी करिब ५५ प्रतिशत रहेको जनाएको छ ।

महोत्सवमा ९० देखि शतप्रतिशत होटल अकुपेन्सी पुर्‍याउने लक्ष्य राखिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पर्यटकीय राजधानी घोषणा भएसँगै नयाँ वर्षको अवसरमा पहिलो पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा चैत र वैशाख महिना भरी २० प्रतिशतसम्म छुटको घोषणा गरेको उनले बताए । ३ दिन चल्ने महोत्सवमा दर्शकसहित ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको संयोजक सुवेदीले जानकारी दिए ।

संघले विगत दुई दशकदेखि नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नयाँ वर्षलाई पनि महोत्सवका माध्यमबाट धुमधामका साथ मनाउने तयारी गरेको संघको भनाइ छ । कोभिड महामारी पछि पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको बताइएको छ ।

महोत्सवबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागर गर्दै प्राकृतिक सम्पदाको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखरामा हाल भारतीय पर्यटक उत्साहजनक सहभागी रहेको महासचिव सुवेदीले दावी गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले पोखरामा हाल भारतीय र निनियाँ पर्यटकको संख्या गत वर्ष भन्दा बढी रहेको दाबी गरे । आर्थिक गतिविधि चलायमान बनाउन बोर्डले संघसँग सहकार्य गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्