Logo

चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

भैरहवा– यही चैत २३ र २४ गते लुुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा महोत्सव हुन लागेको हो । लुम्बिनीको झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसिएसन अन्तराष्ट्रिय शान्ति महोत्सवको सह आयोजकको रुपमा रहने छन् ।

२ दिने महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय म्याराथन, ध्यान दिवस र पिस कन्सर्ट आयोजना हुने लुम्बिनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनकारी दिएको छ । महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

महोत्सव अन्तर्गत चैत २३ गते बिहान ७ बजे लुम्बिनीको पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान दिवसको कार्यक्रम हुनेछ । सोही दिन साँझ शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद विषयमा संवाद कार्यक्रम आयोजन हुनेछ । २४ गते विहान अन्तराष्ट्रिय शान्ति म्याराथन हुनेछ । त्यसैगरी २४ गते साँझ लुम्बिनी शान्ति कन्सर्टको आयोजना हुनेछ ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ४२ किलोमिटर म्याराथन दौड हुनेछ । महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन आयोजना हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए । यस्तै ५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राका लागि ३ किलोमिटरको वाकाथन प्रतियोगिता पनि समावेश गरिएको उनले बताए ।

फूल म्याराथनतर्फ प्रथम पुरस्कार ५ लाख, दोस्रोलाई ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्रदान गरिने छ । महिला हाफ म्याराथनतर्फ प्रथम, दोस्रो र तेस्रोका लागि क्रमशः २ लाख, १ लाख ६० हजार र १ लाख २० हजार रहेको छ । महोत्सवले लुम्बिनीमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको पूर्व पर्यटन मन्त्रीसमेत रहेका जिवनराम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्