इजरायल रोजगारीका लागि युवासँग करार सम्झौता
निजी क्षेत्रलाई युवा पठाउन तत्काल रोक

काठमाडौं– इजरायल जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । यसमध्ये कतिपय युवा इजरायल गएका छन् । अहिले इजरायलमा युद्ध केही कम भएको छ । त्यहाँका बृद्धाआश्रममा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् ।
इजरायलमा सहायक कामदारका रूपमा विभिन्न बृद्धाआश्रममा काम गर्न जान छनोटमा परेकाहरू युद्धका कारण एक वर्षसम्म जान पाएका थिएनन् । अहिले केयर गिभर आवश्यक परेकाले इजरायले श्रम सम्झौता गर्न थालेको हो । हालसम्म पटक–पटक गरेर २१ नेपालीले रोजगारदातासँग श्रम सम्झौता गरिसकेको वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
यसअघि इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका ४२५ युवालाई पुनः छनोट गरेर पठाउन सुरु गरेको विभागले जनाएको छ । विभागले ४२५ मध्ये ३ हप्ताभित्र २५२ जना युवाको श्रम सम्झौता गर्ने इजरायलको योजना रहेको जनाएको छ । २ वर्षदेखी इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने प्रवृत्ति बढेपछि धेरै युवाको सपना इजरायल हुन थालेको छ ।
पछिल्लो समय इजरायल नेपाली लैजान सकारात्मक हुँदै गएको जनाउँदै सोहीअनुसार नेपालले तयारी गरिरहेको छ । इजरायल र हमासबीचको द्धन्द्ध कम हुँदै गए पनि सुरक्षित स्थानमा नेपाली पठाइने गरी प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ । छनोट भएर पनि लट्रीमा नपरेका युवाले अनुरोध गरेपछि इजरायल पक्षसँग छलफल गरेर ४२५ लाई पठाउने तयारी सुरु गरिएको हो ।
हाल बाँकी रहेका बाहेक यसअघि १ हजार १०५ सयभन्दा बढी इजरायल गइसकेका छन् । इजरायलस्थित नेपाली दूतावासले युद्धअघि तत्कालका लागि ५०० सय माग र थप ५०० लागि छलफल छलफल गर्ने जनाएको थियो । यसअघि नै पपुलेसन एण्ड इम्रिग्रेसन अर्थोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट १ हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
तर तेस्रो चरणमा माग गर्ने भनिएको ५ सयको बारेमा भने थप छलफल गरेपछि मात्र कोटा तय हुने दूतावासले जनाएको छ । घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्पmत नै नेपाली युवा माग गर्दै आएका छन् । यसबाहेक विगत २ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सयभन्दा बढी रहेका छन् ।
सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि म्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । २ वर्षअघि जिटुजीमार्पmत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो । नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रमबजारमा नेपाली कामदारको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
नीजि क्षेत्रलाई कामदार भर्ना नगर्न निर्देशन
नेपाल सरकार र इजरायल सरकारबीच सम्पन्न श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरू गइरहेका बेला निजी क्षेत्रबाट कामदार भर्ना नगर्न निर्देशन दिइएको छ । हाल निजी क्षेत्र (बिटुबी) माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भई अध्ययन भइरहेकाले तत्काललाई भर्ना प्रक्रिया रोक्न निर्देशन भएको विभागका निर्देशक उप्रेतीले बताए ।
यस विषयमा मन्त्रालयले हाल अध्ययन गरिरहेका कारण इजाजतपत्रवाला संस्थाहरूबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको छ । विभागले इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति, संस्था तथा समूहहरूले गैर कानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको विभागले जनाएको छ । विभागले इजरायल पठाउने नाममा हुने ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।