Logo

व्यवसायीलाई दुःख नदिने अर्थमन्त्रीको आश्वासन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन दिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटमा अर्थमन्त्री पुनले सो कुरा व्यक्त गरेका हुन् ।

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताएका थिए ।

ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउनेतर्फ पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए । लगानी सम्मेलन चाडैंनै हुन गइरहेकोले स्वदेशी लगानीकर्ताहरुलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायीको मनोबल बढाउनु पर्ने ढकालको धारणा थियो ।

सो अवसरमा अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन दिएको महासंघले जनाएको छ । अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्