Logo

२८० बाख्रा मर्दा डेढ करोडको क्षति

पोखरा– कास्कीको मादी गाउँपालिका– १२ का किसान नारायण बरालले पालेका करिब २८० बाख्रा मर्दा डेढ करोड बढीको क्षति भएको छ । लिपेयनीमा रहेको उनको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फर्ममा रहेका ती बाख्राहरू करिब ४ महिनाको अन्तरालमा मरेका हुन् । हाल उनको फर्ममा ३ वटा बोका मात्रै बाचेका छन् ।

उन्नत जातका उक्त बोका खरिद गर्दा प्रति बोका २ लाख रुपैयाँसम्म परेको बराल बताउँछन् । पछिल्लो समयमा बाख्राहरुले घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र र्‍याल काट्न थालेपछि बिस्तारै झोक्राउँदै मर्न थालेको उनले बताए । गाउँकै नमुना बाख्रा फर्मको रूपमा पहिचान बनाएको उक्त फर्मबाट गतवर्ष करिब ३८ लाख रुपैयाँ आम्दानी भएकोमा यो वर्ष कम्तिमा ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि बाख्रा मरेको कारण ठूलो आर्थिक संकट परेको उनले गुनासो गरे ।

करिब ५ करोड रुपैयाँको लागतमा २०७४ बाट फर्मसहित ६ हजार कुखुरा व्यावसायिक रूपमा पालन गरेका बरालको खोरका ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको हो । पुसमा २२ वटा बाख्रा मरे पनि त्यसको औषधि उपचारले केही समयपछि अन्य बाख्रा मर्न रोकिएको उनी बताउँछन् । माघदेखि पुनः बाख्रा मर्न थालेकोले ल्याव परीक्षण गरी क्रोनिक निमोनिया भएको पशु विज्ञको जानकारीअनुसार घाँटीबाट इनजेक्सन दिए पनि मर्ने क्रम नरोकिएको बरालले बताए ।

उक्त बाख्राहरु मर्नुको कारण निमोनिया रोग भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका सूचना अधिकारी गणेश केसीले बताए । बाख्राको खोरमा अत्याधिक चिसो हुनुको कारण बाख्रामा निमोनिया भई फोक्सोमा असर परेर मरेको हुन सक्ने उनको भनाइ छ । फर्म सञ्चालकले आफूहरुलाई खबर गरे लगत्तै उनको फर्ममा पुगेर अवलोकन गर्दा अधिकांश बाख्रा मरिसकेको अवस्थामा आफूहरु पुगेको केसीले बताए ।

समयमै आफूहरुलाई खबर गरेको भए उक्त फर्म सञ्चालकले ठूलो क्षती व्यहोर्न नपर्ने उनको भनाइ छ । बाख्रालाई फर्म सञ्चालकहरुले पराल र हल्का स्याउला खुवाउँदा बाख्रालाई आवश्यक पर्ने पोषणा तत्व समेत कमी भएको हुन सक्ने आकलन गरिएको छ । उक्त फर्मको बाख्राको बीमा समेत गरेका बरालले बीमाबाट प्राप्त हुने क्षतीपूर्तिले आफूलाई पुनः व्यवसाय सञ्चालनको अवस्थामा आउन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्