Logo

दोस्रो त्रैमासमा जिडिपी ४ प्रतिशतले बढ्ने अनुमान

चालु आवको पहिलो त्रैमासका तुलनामा भने दोस्रो त्रैमासको वृद्धि ०.७ प्रतिशत मात्र हो ।

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ४ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार यो वृद्धि गत आवको दोस्रो त्रैमासका तुलनामा हुने भएको हो । कार्यालयले आर्थिक वृद्धिको सूचक पहिल्याउन १८ वटा औद्योगिक क्षेत्रलाई आधार मानेर गणना गर्दै आएको छ ।

कार्यालयका अनुसार आव २०६७/६८ लाई आधार वर्ष मानेर चालु वर्षको दोस्रो त्रैमासिकको जिडिपी अनुमान गरिएको हो । नेपालले एक दशकदेखि निरन्तर रूपमा त्रैमासिक रूपमा राष्ट्रिय लेखा अनुमान गरी प्रकाशन गर्दै आएको छ । दोस्रो त्रैमासिकमा अर्थतन्त्र धनात्मक हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धिले हो । यस्तै पर्यटन आगमनमा भएको सुधारसँगै होटल क्षेत्रमा कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेको बताइएको छ ।

यो अवधिमा व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रको धनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मकतर्फ उन्मुख रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मौसमको प्रभावलाई समेत जोडेर हेर्दा दोस्रो त्रैमासको जिडिपी आधारभूत मूल्यमा पहिलो त्रैमासमा भन्दा ०.७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवको पहिलो त्रैमासको तुलनामा दोस्रोमा कुल १८ वटा वर्गीकरणमध्ये ६ औद्योगिक क्षेत्रमा आएको संकुचनको प्रभाव कुल जिडिपीमा देखिएको छ ।

यही कारण जिडिपीमा सामान्य वृद्धि देखिएको हो । कार्यालयका अनुसार चालु आवको र गत आवको दोस्रो त्रैमासिकलाई क्षेत्रगत रूपमा तुलना गर्दा अर्थतन्त्रका कुल १८ औद्योगिक वर्गीकरणमध्ये १७ औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२९.३ प्रतिशत) रहेको छ भने विद्युत तथा ग्याँस क्षेत्र १७.१ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

यस्तै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ भने खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने अनुमान छ । कार्यालयका अनुसार निर्माण क्षेत्रमा उत्खननमा आएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्ष रूपमा भर पर्ने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशतले सकारात्मक छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानलगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयले बताएको छ । अर्कातर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र भने यो त्रैमासिकमा सामान्य वृद्धि (०.५ प्रतिशत) मा सीमित छ । व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो ।

यो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि वृद्धिदर झिनो अंकले ऋणात्मक (०.४ प्रतिशत) रहन गएको छ । गत आवको दोस्रो त्रैमासिकको तुलनामा यो वर्ष औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको अनुमान गरिएको छ । कार्यालयका अनुसार मौसमी प्रभावलाई समायोजन गर्दा चालु आवको प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को तुलनामा दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस) मा १८ औद्योगिक क्षेत्रमध्ये १२ को उत्पादन वढेको देखिन्छ भने ६ उद्योगको उत्पादन घटेको देखिन्छ ।

विद्युत तथा ग्याँस आपूर्ति, सेवा क्षेत्रमा सबैभन्दा बढी ९.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यस्तै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान छ । यो अवधिमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.६ प्रतिशत हुने र समग्र अर्थतन्त्रको वृद्धिदर ०.७ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । वृद्धिदर ऋणात्मक हुने कुल ६ औद्योगिक क्षेत्रमध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रको ऋणात्मक वृद्धिदर (७.२ प्रतिशत) छ । पहिलो त्रैमासिकको तुलनामा दोस्रोमा निर्माण कार्यले गति लिन नसक्दा यस क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्