नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सम्पन्न

राजधानीस्थित भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रालि र फटेक्स ट्रेड फोयर एन्ड इभेन्ट प्रालिले सयुंक्त रूपमा आयोजना गर्दै आएको नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी मेला आइतबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त मेलामा कृषि, पशुपालन र नयाँ कृषिसँग सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो ।
मेलामा ५३ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले बताएका छन् । यस वर्ष सह–आयोजकमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना छ भने मुख्य प्रायोजकका रूपमा इन्टरन्यासनल ट्र्याक्टर लिमिटेड सेनालिका तथा सहप्रायोजकमा महिन्द्रा र पोसाक दाना रहने भएको छ । यसैगरी प्रदर्शनीमा सहयोगी सस्ंथाहरूमा नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघ छ । आयोजकले बताए मेलामा यस वर्ष नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बगंलादेश, जर्मनी, बेलजियम, नेदरल्यान्डसहित १० भन्दा बढी देशको सहभागी रहेको थिए । साथै मेलामा अवलोकनकर्तालाई प्रवेश निःशुल्कको व्यवस्था गरिएको थियो । मेलामा विद्यार्थी, युवा र कृषिमा आबद्ध रहेका किसानहरूको पनि बाक्लो उपस्थिति देखिन्थ्यो । प्रदर्शनीमा विभिन्न देशका १२० भन्दा बढी प्रदर्शनीकर्ताहरूको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक यन्त्र तथा उपकरणहरू, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यापालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग, थोपा सिँचाइ आयोजनासम्बन्धी विभिन्न प्रविधिहरूको प्रदर्शनी गरिएको थियो । मेलामा सहभागी हुनुभएका धापासीस्थित ह्वाइट माउन्टेन स्कुलका दीपा काफ्लेले मेलामा सहभागी भएर कृषिसम्बन्धी नयाँ प्रविधिहरूको अवलोकर्न गर्न पाउँदा खुसी भएको कुरा व्यक्त गरिन् । मेलामा कृषि र पशुपालनसम्बन्धी सामग्रीको प्रदर्शनी मात्र नभई प्रत्क्ष्य रूपमा कृषि प्रदर्शनी गरेका व्यक्तिहरूसँगको भेट र कृषि र पशुपालनसम्बन्धी गोष्ठी पनि सञ्चालन गरिएको थियो । यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मूल उद्देश्य नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादनमा वृद्धि भई कृषिउपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने आयोजकले बताए ।