Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो)बाट सोमबारदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो–टु)बाट मात्र अवतरण हुने छ ।

काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी–वे निर्माण तथा विस्तारको काम भइरहेकाले बौद्धतर्फको टु–जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । उनका अनुसार उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि यो निर्माण गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०–२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ । एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।

एटीसीईपीको आयोजना क्षेत्रमा धावन मार्गलाई ट्याक्सी वेका रूपमा उपयोग घटाउन समानान्तर ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी विमान राख्न यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने र धावन मार्गको दक्षिणी भागमा ३०० मिटर धावन मार्ग विस्तार गर्नेलगायत काम छन् ।

प्रतिक्रिया दिनुहोस्