Logo

स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर

स्याङ्जा– स्याङ्जा उत्पादन र खपतका हिसाबले दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो ।

दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा वार्षिक दुई करोड ८४ लाख ६३ हजार लिटर दूध उत्पादन हुन्छ । वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर दूध उपभोग गर्नुपर्छ । प्रतिव्यक्ति ११२ लिटर दूध उपलब्धता भएको स्याङ्जाबाट आन्तरिक खपतपछि ५३ लाख १३ हजार पाँच सय चार लिटर दूध निकासि हुँदै आएको छ ।

जिल्लामा खासगरी भैसी र गाईको दूध उत्पादन हुँदै आएको छ । आन्तरिक खपत र निकासी हुने दूधमा भैसीको २६ हजार ७१३ र गाईको एक हजार ७५० मेट्रिकटन दूध उत्पादन हुने गरेको पशु विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक रुपेश श्रेष्ठले बताए ।
वार्षिक न्यूनतम ४८ वटा अण्डा उपभोग गुर्नपर्ने मापदण्ड रहे पनि स्याङ्जमा प्रतिव्यक्ति २३१ वटा अण्डा उत्पादन हुन्छ । पाँच करोड ८६ लाख २७ हजार अण्डा उत्पादन हुने जिल्लामा उपभोगपछि वार्षिक चार करोड ६४ लाख ८१ हजार ८४८ अण्डा निकासी हुने गरको कार्यालयले जनाएको छ ।

भीरकोट नगरपालिकाको हेलुस्थित खिलुङ् कालिका एग्रो फार्मले जर्मनी प्रविधिमा दैनिक झण्डै डेढ लाख वटा अण्डा उत्पादन गर्दै आएको छ । जिल्लाका भीरकोट, वालिङ र आसापास क्षेत्रका लेयर्स कुखुरापालक कृषकले पनि अण्डा उत्पादन गर्दै आएका छन् ।

मासुमा समेत आत्मनिर्भर रहेको जिल्लामा वार्षिक ३५ सय ५२ मेट्रिकटन मासु उत्पादन हँुदै आएको छ । प्रतिव्यक्ति वार्षिक १४ किलो मासु चाहिनेमा आन्तरिक उत्पादनले जिल्लालाई धानेको छ । मासु उत्पादनमा सबैभन्दा बढी भैसी, राँगा, खसी, बाख्रा र कुखुरा छ भने भेडा र बंगुर सामान्य मात्रामा उत्पादन हुन्छ ।

जिल्लाका पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र आँधीखोलामा बढी मात्रामा दूध उत्पादन हुँदै आएको केन्द्रका पशु विकास अधिकृत गोपाल गिरीले बताए । उनका अनुसार उत्पदनका हिसाबले चापाकोट, बिरुवा, कालिगण्डकीमा बढी मात्रामा मासु उत्पादन हुन्छ ।

६८ हजार ९२३ घरधुरी रहेको जिल्लामा ४५ हजार २१२ घरपरिवार पशुपालनमा संलग्न छन् । विज्ञ केन्द्रका अनुसार जिल्लामा ६१४ बाख्रा, चार सय ८ कुखुरा, दुई सय नौ गाईभैसी फार्मसहित साना र ठूला गरी १४ सय ८९ वटा पशुपंक्षी फार्म सञ्चालनमा छन् । दूध, अण्डा र मासु उत्पादनमा वर्षेनी वृद्धि हँुदै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्