Logo

सिटी हल निर्माणमा ढिलाइ

चौथो पटक म्याद थप्ने तयारी

नेपालगन्ज– नेपालगन्जमा निमार्णाधीन नेपालगन्ज सिटी हल निर्माण कार्यमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा पाँच वर्ष अघिदेखि निर्माण भइरहेको चार तले सिटी हल निर्माणमा ढिलाइ भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाईमार्फत् सिटी हल निर्माणका लागि निर्माण कम्पनी लामा कन्स्ट्रक्सनसँग २०७५ माघ २५ मा सम्झौता भएको थियो ।

२०७५ फागुनदेखि काम गरी सुरु गरेको कन्स्ट्रक्सनले २०७८ साउन २५ गते सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर सिटी हलको तीन पटकसम्म म्याद थप भइसक्दा पनि निर्माण कार्य पूरा हुन नसकेको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जले जनाएको छ । ‘सम्झौता बमोजिमका काम पूरा नभएपछि तीन पटक म्याद थप भइसकेको छ,’ कार्यालयका निमित्त प्रमुख विजयकेशर खनालले भने, ‘चौथो पटक २०८१ असार मसान्तसम्मका लागि म्याद थप गर्न प्रकृया अघि बढाइएको छ ।’

सिटीहलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ भने निर्माण कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरिसकिएको निमित्त प्रमुख खनालले जानकारी दिए । निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार मुख्य संरचना निर्माणको काम सम्पन्न भई फिनिसिंगको काम भइरहेको छ । कोरोना महामारीका कारण विगतमा केही समय काम रोकिएपछि ढिलाइ भएको हो । यस्तै सुरुमा बजेट स्टिमेटमा धेरै कुरा छुटेकोले पछि समायोजन गर्दा ढिलाइ भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ ।

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभावका कारण पनि सिटी हल निर्माणमा ढिलाइ भएको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको दुई बिघा आठ कठ्ठा जग्गामा उक्त सिटी हल निर्माण भइरहेको छ । कुल २९ करोड ४५ लाखको लागतमा निर्माण भइरहेको उक्त बहुउपयोगी सभाहलमा बाल्कोनीसहित ७९५ सीट क्षमताका साथै तीनवटा कन्फ्रेन्स हलसमेत रहेका छन् । करिब साढे ५ कठ्ठा जग्गा बिल्डिङ्गले ओगटेको अत्याधुनिक थियटरसहितको सभाहलमा चारतले भवन रहेको छ ।

सभाहलको अण्डरग्राण्डमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुईपाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ । पहिलो र दोस्रो तलामा एक–एक वटा र तेस्रो तलामा दुईवटा साना हल पनि बनाइएको छ । हरेक तलामा बहुउपयोगी हल, थियटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनिक हललगायतको व्यवस्था गरीएको छ । पश्चिम तराईमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रि«स्तरका विभिन्न सभा सम्मेलन, गोष्ठी, साँस्कृतिक कार्यक्रम सञचालन गर्न बहुउपयोगी हुने अपेक्षा गरिएको छ ।

निर्माण सम्पन्न भइसकेपछि संघीय आयोजना कार्यान्वयन इकाईले नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहे पनि स्पष्ट कार्यविधि नभएका कारण कसलाई हस्तान्त्रण गर्ने भन्ने अन्यौलता रहेको बताइएको छ । पाँच सय सिट क्षमताभन्दा तलको हललाई स्थानीय तहअन्तर्गत हस्तान्तरण गरिने कार्यविधि भए पनि सोभन्दा माथिका हललाई कसलाई हस्तान्तरण गर्ने भन्ने स्पष्ट कार्यविधि नभएका कारण अन्योलमा रहेको छ । उक्त कुराको कार्यविधि बनाउने तयारी थालिएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्