Logo

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

स्याङ्जा– तनहुँको दुलेगाैंडादेखि स्याङ्जाको रामबाच्छा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रयाक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वाँरादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वाँरादेखि केघा देउरालीको २६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको २८५ मिटर बाटोका लागि १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

गैरीस्वाँरादेखि केघा देउरालीको सिँढी बाटो गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरिन् । सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताइन् ।

दुलेगाैंडादेखि रामबाच्छासम्म कुल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्सांकन अनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायत विविध कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समय स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको पर्यटन व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्