पाल्तडा–तल्लोडुङ्गेश्वर खण्ड स्तरोन्नति गर्न बजेट अभाव

जुम्ला– बजेट अभावले कर्णाली राजमार्गअन्तर्गत पाल्तडा–तल्लोडुङ्गेश्वर सडक खण्ड स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाएका छन् । संघीय सरकारले उपेक्षा गर्दै आएका कारण उक्त खण्डसँगै कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा कर्णालीबासीले सास्ती पाएका हुन् । जुम्ला–सुर्खेत जोड्ने २३२ किमि दूरीको राजमार्ग सञ्चालनको करिब दुई दशक भइसक्दा पनि स्तरोन्नतिमा सरकारले उपेक्षा गर्दै आएको हो ।
बजेट अभावकै कारण विस्तार तथा स्तरोन्नति नहुँदा कर्णालीकै जीवनमार्ग मानिएको राजमार्ग मृत्युमार्गका रूपमा कहलिएको छ । दैखोला–जुम्ला १०४ किमि सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । जुन क्षेत्रमा बजेट अभावका बीच पनि स्तरोन्नतिको काम भइरहेको छ । यद्यपि निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । जुम्ला खण्डकै अप्ठयारो क्षेत्रमा स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाइरहेका छन् ।
सडक चौडा बनाउने काम भए पनि केही जोखिमयुक्त स्थानमा स्तरवृद्धि हुन सकेको छैन । सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भइरहेको बताए । उनका अनुसार, ‘जुम्लाको तातोपानी, कुडारी, रारालिही क्षेत्र तथा कालिकोटको पिलि, नयाँ बजारलगायतका ठाउँमा डबल कटिङको काम हुँदैछ ।’ यद्यपि बजेट अभावकै कारण जोखियुक्त स्थानमा स्तरोन्नति गर्न नसकिएको उनको भनाइ छ ।
यता सडक डिभिजन सुर्खेतको कार्य क्षेत्रभित्र पर्ने र पाल्तडा–तल्लोडुंगेश्वर खण्डको सडक भने वर्षाैंदेखि खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भए पनि बजेट अभावले स्तरोन्नति हुनसकेको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले दहीखोलादेखि बांगेसिमलसम्म १३२ किलोमिटर सडक हेर्छ । तर पाल्तडा–तल्लोडुंगेश्वरसम्मको करिब ३० किलोमिटर वर्षौदेखि हिमाल्य र धुलाम्य हुँदा पनि सुधार नहुँदा यात्रुले सास्ती पाइरहेका छन् ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर टोपनारायण पौडेलका अनुसार उक्त सडक खण्ड स्तरोन्नतिका लागि बजेट नहुँदा काम गर्न सकिएको छैन । वर्षौं पहिले गरेको कालोपत्रे उप्किएर धुलोमात्रै छ । सरकारले कर्णाली राजमार्ग कालोपत्रेका लागि बजेट नपठाउँदा समस्या भएको उनको भनाइ छ । खाल्डाखुल्डी टाल्नसमेत बजेट नपठाउने सरकारले कर्णालीमाथि अन्याय गरेको भन्दै कर्णालीबासीले गुनासो गर्दै आएका छन् । विनियोजित बजेट अपर्याप्त हुने, हरेक वर्ष निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने दायित्व नै बढी बाँकी रहने जस्ता समस्याले कर्णाली राजमार्गको स्तरोन्नति अपेक्षाकृत रूपमा हुन सकेको छैन ।
बजेट व्यवस्था नभए आन्दोलन गर्ने चेतावनी
जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानबहादुर शाहीले कर्णालीको लाइफलाइन मानिएको कर्णाली राजमार्ग स्तरोन्नति नभए पनि सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले नेपाली भाषाको उद्गमस्थल सिंजा राराताल, जुम्ला चन्दननाथ जाने एकमात्र सडक कर्णाली रामाजर्ग सुधारमा सरकारले ध्यान नदिँदा दुर्घटना बढ्नुका साथै नागरिकले सास्ती पाएको उनको भनाइ छ ।
कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था नभए सरकारविरुद्ध आन्दोलन गर्छौं । उनले भने, ‘सडक सञ्चालन भएको करिब दुई दशक भयो । खाल्डाखुल्डी पुरिएका छैनन् । धुलोले यात्रु बिरामी पर्ने अवस्था छ । सरकारले कर्णालीलाई सधै सौतेनी व्यवहार गरेको छ । अब चुप लागेर बस्दैनौ । बजेट व्यवस्थापन नभए सडक र सदनमा सशक्त आन्दोलन हुन्छ ।’
असुरक्षित राजमार्गकै कारण कर्णालीबासीको बाच्न पाउने अधिकार दुर्घटनाको कारण खोसिँदै गएकोले राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । जुम्लाले स्याउ, सिमि, मार्सी धान, जडिबुटीलगायत उत्पादनबाट प्रदेशको समृद्धिमा टेवा दिनसक्ने भएकाले कर्णालीको विकासमा कन्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।