Logo

पूर्वबाट ११ अर्ब व्यापार घाटा

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपाल र भारतबीच हुने व्यापार घाटा ११ अर्ब नाघेको छ । भारतसँग बढी भर परेको आयात निर्यात व्यापार असन्तुलन हुँदा व्यापार घाटा बढेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नेपालको पूर्वी नाका काँकडभिट्टा भएर भारतसँग हुने व्यापार घाटा ११ अर्ब ५२ करोड रुपैयाँ रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुनसम्म नेपालको पूर्वी नाका काँकडभिट्टा भएर भारतसँग हुने व्यापार घाटा ११ अर्ब ५२ करोड रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएको उनले बताए ।

निर्यातको तुलनामा आयात हेर्दा ४०.८४ प्रतिशत व्यापार घाटा भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुनसम्म नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपालले ३१ अर्ब २६ करोड रुपैयाँ बराबरका सामान आयात गरेकोमा १४ अर्ब ५१ करोड मूल्यबराबरका मात्र मालवस्तु भारत पठाउन सकेको उनले बताए । त्यो अवधिमा ५३.५६ प्रतिशत अर्थात् १६ अर्ब ७४ करोड मूल्य बराबरको व्यापार घाटा व्यहोरेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुनसम्मको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म ९.७८ प्रतिशत वा ३ अर्ब ५८ करोड रुपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ । १४.९३ प्रतिशतले वृद्धि भएर १६ अर्ब ६८ करोड रुपैयाँ निर्यात भएको पनि विभागले जनाएको छ ।

पहिले ३१७ प्रकारका कृषिवस्तु मात्र भारत निर्यात हुने गरेकोमा अहिले २०० भन्दा कम मालवस्तु निर्यात हुने गरेको विभागले जनाएको छ । १६ वर्षअघि नेपालले भारतलाई ३० लाख रुपैयाँ मूल्यबराबरको ताजा फूल बिक्री गरेको भए पनि त्यसपछिदेखि निर्यात ठप्प भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १३ करोड रुपैयाँ मूल्यबराबरको ताजा फूल नेपालले ल्याएको छ ।

यसैगरी, १६ वर्षअघि नेपालले नै २० करोड रुपैयाँभन्दा बढीको चोकर भूस भारत पठाएकोमा चालु आवको साउनयता ५५ करोड रुपैयाँबराबरको भुस चोकर भारतबाट ल्याएको भन्सार विभागले जनाएको छ । अदुवा, चिया, वनस्पति घिउ जस्ता निर्यातका सम्भावना बोकेका उत्पादन भारत निकासी गर्न सहज नभएकाले पनि व्यापार घाटा बढेको बताइएको छ ।

नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै अत्यधिक मात्रामा डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास,हवाई इन्धन, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्ट क्लिङकर, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ आयल, मोबिल, मोटरका ब्याट्री, प्लास्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भइ आउने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

त्यस्तै नेपालको पूर्वी नाका काँकडभिट्टा भएर मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुटी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु भारत तथा समुन्द्रपार निकासी हुने गरेको उनले बताए । निर्यात सम्भावना बोकेका विभिन्न वस्तुलाई भारत निकासीमा बेला–बेलामा हुने अवरोधले समस्या पर्दै आएकाले व्यापार घाटा बढेको उनले बताए । भारतसँगको व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्