Logo

तमानखोलामा पक्की सडक

बागलुङ– भौगोलिक रूपमा जिल्लाकै विकट मानिने तमानखोला गाउँपालिकामा पक्की सडक पुग्ने भएकोे छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि बोङ्गादोभान बजारसम्मको ११ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

स्थानीयको अगुवाइमा डेढ दशक अगाडि खनिएको सडक गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि कालोपत्रे हुन लागेको पूर्वधार विकास कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार उक्त सडकका लागि प्रदेश सरकारले २३ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपेश रिगलले बताए । कार्यालयले सडक निर्माणका लागि तीन वर्षको समय अवधि राखेर टेन्डर आह्वान गर्ने प्रकृयाको अन्तिम तयारीमा रहेको रिगलले बताए ।

तमानखोला जिल्लकौ विकट भूगोल भएको पालिकाका रूपमा परिचित छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्तीसम्म पुगेका सडक साँघुरा र अप्ठ्यारा छन । साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् । भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको प्रदेशसभा सदस्य द्रोण कुँवरले बताए ।

‘अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउनेछन्,’ कुँवरले भने, ‘सडकसँगै अन्य विकासका काममा पनि गति लिन थालेकाले अव यहाँका नागरिकले दुर्गमताको अनुभूति गर्नुपर्ने छैन ।’ सांसद कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए । पालिकाको बजेट कालोपत्रेका लागि अपुग हुने, केन्द्र तथा प्रदेश सरकारको प्राथमिकतामा पर्न नसक्दा सिंगो पालिका नै विकासमा पछि परेको उनको भनाइ छ ।

सडक कालोपत्रे भएसँगै तमानखोलाको विकासले गति लिने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन,’ अध्यक्ष बुढाले भने, ‘सडक कालोपत्रे भएसँगै तमानको विकटताको पहिचान फेरिने छ ।’ अध्यक्ष बुढाका अनुसार बोङ्गादोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक स्तरोन्नतिका लागि डिपिआर तयार भएको छ ।

यससँगै घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डीपीआर भएको छ । पालिकाको सीमित बजेटले ससाना पूर्वाधार निर्माणका काम गर्न सकिए पनि सडक कालोपत्रे गर्न नसकिएको उनले बताए । ‘पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले केन्द्र र प्रदेश सरकारकै मुख ताकेर बस्नु पर्दाे रहेछ ।’ अध्यक्ष बुढाले भने, ‘बजेट अभावका कारण वर्षौंदेखि यहाँका नागरिकले कच्ची सडकमा जोखिमपूर्ण यात्र गर्न बाध्य थियौं ।’

सडक कच्चि नै भए पनि बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पक्की पुल यस अगाडि निर्माण सम्पन्न भइसकेका छन् । ढोरपाटन नगरपालिका–३ को हुँद्राफेँदीखोला र तमानखोलाको बालिबाङखोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो । तीन वर्ष अगाडि हुँदाफेँदी र दुई वर्ष अगाडि बालिबाङखोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढाले बताए । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । सडक कालोपत्रे हुने सुनेपछि स्थानीय हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्