अमेरिकी व्यवसायी लगानी सम्मेलनमा सहभागी हुने

काठमाडौं– अमेरिकी व्यवसायी लगानी सम्मेलनमा सहभागी हुने भएका छन् । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग गरेको भेटमा सो कुरा बताएका हुन् । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताले सहभागिता जनाउने जानकारी नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले दिए । लगानी सम्मेलन सफल पार्न आफूहरुका तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको थियो । अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि राम्रो तयारी भइरहेको बताउँदैं लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको जानकारी दिएका थिए । ‘नेपालमा लगानीको राम्रो वातावरण बनिरहेकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ताको सहभागिताका लागि दूतावासबाट सहयोगको अपेक्षा गरेका छौँ,’ राजदूत थम्प्सनसँग अर्थमन्त्री पुनले भने ।
नेपालमा लगानी वातावरण सुधारका लागि मुलुकको सार्वभौम साख मूल्यांकनको कामअघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्यांकनका लागि प्रक्रियाअघि बढाएको छ । बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो । यस्तै, मन्त्री पुनले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित कालोसूचीमा पर्ने सम्भावना टरेको जानकारी पनि राजदूत थम्प्सनलाई दिए ।
यसैबीच बंगलादेशको राजधानी ढाकामा नेपाली दूतावासले आयोजना गरेको प्रि–इभेन्ट इन्भेष्टमेन्ट कार्यक्रममा लगानी बोर्डले सहभागिता जनाएको छ । सो अवसरमा लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी गराएको बोर्डले जनाएको छ । बंगलादेशको लागि नेपालको राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीको लाभबारे चर्चा गर्दै बंगलादेशी लगाीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे ।

चीनमा लगानी सम्मेलनको प्रि–इभेन्ट सेमिनार
लगानी बोर्डसँगको सहकार्यमा चीनका विभिन्न सहरमा तेस्रो लगानी सम्मेलनको प्रि–इभेन्ट सम्बन्धी सेमिनार आयोजना गरिएको छ । नेपाली दूतावास, बेइजिङ तथा हङकङ छङ्दू र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म पाँच वटा छुट्टाछुट्टै सेमिनार आयोजना गरेको हो । यसमा बोर्डले पनि सहभागिता जनाएको थियो ।
आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि चिनियाँ सरकारी निकायहरू, चिनियाँ लगानीकर्ता एवं गैरआवासीय नेपालीलगायतलाई लक्षित गरी सेमिनार आयोजना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा लगानी सम्मेलनको उद्देश्य, लगानी वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयास, लगानीका अवसर र सम्भाव्य परियोजनाका बारेमा जानकारी दिइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलन नेपालमा लगानीको वातावरण र अवसरको विषयमा जानकारी लिने उपयुक्त अवसर भएको बताएका थिए । चिनियाँ लगानीकर्तालाई सहभागीताका लागि उनले अनुरोध गरे । चिनियाँ अधिकारीहरूले नेपालमा लगानी गर्दाका अनुभव साटेका थिए । २३ मार्चमा हङकङस्थित महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुती गरेका थिए ।
बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले लगानीका अवसर र सम्मेलनको विषयमा कार्यपत्र पेश गरेका थिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानीका लागि आग्रह गरेका थिए । २५ मार्चमा छेङ्दुस्थित महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण, अवसर बारे उल्लेख गरेका थिए । सार्वजनिक, निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न बोर्डको प्रयासका बारेमा पनि उनले जानकारी दिएका थिए ।