Logo

यस वर्षकाे मार्चमा मात्र आए १ लाख २८ हजार १६७

२९ प्रतिशतले बढे पर्यटक

काठमाडौं– गत वर्षको तुलनामा यो मार्चमा नेपाल आउने पर्यटक करिब २९ प्रतिशतले बढेका छन् । यस वर्षको मार्चमा १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल आएका छन् । गत वर्ष मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका थिए । यो वर्षको आगमन गत वर्षको तुलनामा २८.९० प्रतिशतले बढी हो । मार्चमा मात्र होइन, पछिल्ला केही महिनामा नेपाल आउने पर्यटकको संख्या बढ्दै आएको छ ।

यही वर्षको फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक आएका थिए । यो गत वर्षको भन्दा ३१ हजार बढी हो । यस्तै गत जनवरीमा ७९ हजार १ सय पर्यटक आएका थिए । यो वर्षको जनवरी र मार्चलाई तुलना गर्दा मार्चमा झन्डै ५० हजार पर्यटक बढेको देखिन्छ । यो वर्षको तीन महिनामा पर्यटक आगमनको संख्या ३ लाख ४ हजार ६ सय ९३ पुगेको छ । नेपाल आउने पर्यटकलाई प्रतिमहिना औसतमा हेर्दा १ लाख १ हजार ५ सय ६४ रहेको छ ।

अर्कोतिर कोभिडअघि सन् २०१९ मा १ लाख २७ हजार ३ सय ५१ जना पर्यटक भित्रिएका थिए । यसको चार वर्षपछि पर्यटक आगमनले नयाँ रेकर्ड राखेको छ । नेपालमा अहिले साना–ठूला गरेर वार्षिक ४० लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने गरी पूर्वाधार निर्माण भएको छ । पछिल्ला दिनमा प्रत्येक महिनाजसो नयाँ होटल बनेर सञ्चालनमा आएको देखिन्छ । निजी क्षेत्रबाट होटल क्षेत्रमा ठूलो लगानी भए पनि सरकारले पर्यटक आगमन बढाउने गरी नीतिगत व्यवस्था गर्न सकेको छैन । सरकार आफैंले वार्षिक १० लाख पर्यटक ल्याउने लक्ष्य राख्दै आएको छ ।

अहिले जेजति पर्यटक आएका छन्, ती सबै निजी क्षेत्रको पहलले मात्र आएका हुन् । नेपाल आउने पर्यटकको तथ्यांक राख्ने नेपाल पर्यटन बोर्डका अनुसार पछिल्ला महिनाहरूमा चिनियाँ पर्यटक बढ्न थालेकाले कुल पर्यटकको संख्यामा वृद्धि भएको हो । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । त्यसपछिको संख्या चिनियाँ पर्यटकको हो । कोभिड महामारीपछिका केही समयसम्म चीनले आफ्ना नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर जान अनुमति दिएको थिएन । त्यसले नेपालमा आउने पर्यटकको संख्या पनि घटाएको थियो । तर, अहिले चीनको अवरोध हटेको छ ।

यही कारण चिनियाँ पर्यटक बढ्न सुरु भएको छ । मार्च महिनामा पर्यटक बढ्नुको अर्को कारण हिमाल आरोहणका लागि पनि पर्यटक आउनु हो । अहिलेसम्म आरोहण अनुमति पाउने पर्यटकको संख्या धेरै छैन । तर, यही आरोहण गर्न पर्यटक आएको अवस्था छ । यस्तै सबैभन्दा धेरै आउने भारतीय पर्यटकको आगमन संख्या पनि पुरानै अवस्थामा छ । यिनै कारण कुल पर्यटक संख्या बढेको देखिएको हो ।

बोर्डका अनुसार नेपालमा पर्यटकीय मौसम फेबु्रअरीबाट सुरु हुन्छ र मार्च र अप्रिलमा बढ्दै जान्छ । वर्षायाम सुरु भएपछि भने आगमन पनि क्रमशः घट्दै जाने गर्छ । बोर्डले प्रकाशित गरेको तथ्यांकअनुसार यो मार्चमा दक्षिणी छिमेकी भारतबाट ३० हजार ६ सय ९८ पर्यटक आएका छन् । यो कुल पर्यटक संख्याको करिब २४ प्रतिशत हो । यस्तै गत वर्षको मार्चको तुलनामा भारतीय पर्यटक यो वर्ष १८.५ प्रतिशतले धेरै आएका छन् ।

यस्तै उत्तरी छिमेकी चिनियाँ पर्यटक यो मार्चमा १२ हजार ९२ जना आएका छन् । यो कुल पर्यटक संख्याको साढे ९ प्रतिशत हो । गत वर्ष मार्चमा आएका चिनियाँ पर्यटकको तुलनामा यो ३ सय ५८ प्रतिशतले धेरै हो । अघिल्लो मार्चमा २ हजार ६ सय ३५ जना चिनियाँ पर्यटक आएका थिए । नेपाल आउने पर्यटकमध्ये तेस्रो स्थान अमेरिकाले लिएको छ । अमेरिकाबाट मार्चमा १० हजार ७ सय ६३ जना यहाँ आएका छन् । यस्तै बेलायतबाट ७ हजार २ सय ४१ जना नेपाल भित्रिएका छन् ।

नेपाल आउने पर्यटकहरूमा श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलियाबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ जना छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख दीपकराज जोशी अहिलेको पर्यटक आगमनबाट बढी उत्साहित हुनु नपर्ने बताउँछन् । उनका अनुसार यो वर्षको सुरुबाटै पर्यटन आगमनमा सुधार आएको हो । यो सन्तोष गर्ने तथ्यांक भए पनि उत्साहजनक सुधार होइन ।

उनका अनुसार हाम्रा जस्ता देश दुई वर्ष अगाडि नै कोभिड–१९ अघिको लयमा फिर्ता भएका छन् । हामी बल्ल त्यसतर्फको बाटोमा हिँड्न सुरु गरेका छौं । ‘पछिल्लो समय पर्यटक वृद्धि हुनुमा सबै क्षेत्रको समन्वय रहेको छ,’ जोशीले कारोबारसँग भने, ‘चीनतर्फको उडान संख्या बढनु, निजी क्षेत्रले प्रचार प्रसारमा जोड दिनु र सरकारले ई–भिसा लागू गर्नुले पर्यटक बढाउन सहयोग पुर्‍याएका छन् ।’ अहिले ट्रेकिङ जाने मौसम सुरु भएको र पर्वतारोहण तथा साहसिक पर्यटक आगमनको पनि मौसम भएकाले संख्या बढेको उनको बुझाइ छ ।

यस्तै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले चीनले नेपालसँगका नाका खोल्ने, भ्रमण खुल्ला गर्ने र उडान संख्या बढाउने गर्दा पर्यटक आगमन वृद्धि भएको बताए । उनका अनुसार यो समय अनुसारको आगमन संख्या उत्साहजनक होइन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले पनि अहिलेको आगमन उत्साहजनक नभएको र सिजन भएकाले पर्यटक बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्