इलाममा अन्तु पर्यटन महोत्सव

इलाम- स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ ।
नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो । महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फुटी शेर्पा, रवि रिमाललगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि गरिने उपप्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले बताए । महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ समेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए ।
चैत २८ गते बृहत् नगर सरसफाइ कार्यक्रम राखिएको भन्दै अन्तु परिसरलाई सुन्दर बनाउँदै पर्यटकको आकर्षक केन्द्रका रुपमा प्रवर्द्धन गरिने भट्टराईले बताए । नयाँ वर्षको पहिलो दिन बिहानै पर्यटकलाई सूर्योदयको दृश्यावलोकन गराएर शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी छ ।
महोत्सव आयोजना गर्न रू १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले बताए । शुक्रबार र शनिबार अन्तुमा पर्यटक संख्या अन्य दिनको तुलनामा बढी हुने गरेको छ ।