रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रम सुरु

इलाम– इलामको रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रम सुरु भएको छ । दक्षताका आधारमा अग्रज किसान छनोट गर्ने र अन्य किसानलाई प्राविधिक सहयोग पुर्याउन गुरु किसान कार्यक्रम सुरु भएको हो ।
यो संघीय सरकारकै कार्यक्रमअनुसार स्थानीय तहले सो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । अन्य स्थानीय तहमा यो कार्यक्रम लागू नभइसकेको अवस्थामा यस गाउँपालिकामा देशमा नै पहिलो पटक यो कार्यक्रमको सुरुवात भएको उनको दाबी छ ।
गुणस्तरीय उत्पादन हुन नसक्दा नेपालमा उत्पादित कृषिजन्य वस्तु विदेश निर्यातमा समस्या भइरहेको भन्दै किसानलाई समेत गुणस्तरीय उत्पादनमा जोड दिन पनि यो कार्यक्रम सुरु भएको बताइएको छ । कृषि पेशाबाट नाफा बढी नभएका कारण पनि किसान पलायन हुँदै गएको भन्दै यो कार्यक्रम ल्याइएको गाउँपालिकाले बताएको छ ।
बजारको समस्या किसानको उत्पादनसँग जोडिएको हुनाले पनि यसका लागि किसानले गुणस्तरीय उत्पादनमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष स्याङ्बाले बताए । उनले परिमाण, गुणस्तर र निरन्तरतामा निर्भर रहिरहने समेत बताए । परिमाण, गुणस्तर र निरन्तरतालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने किसान तयार गर्दै किसान संख्या थप गर्दै किसानलाई बजारको सुनिश्चितता गर्ने प्रयासको सुरुवात भएको उनको भनाइ छ ।
कृषि पेसालाई व्यावसायिक रूपमा अघि बढाउन नेपालले उत्पादकत्व वृद्धिको अभियानमा जोड दिन जरुरी रहेको उनको भनाइ छ । यो कार्यक्रम स्थानीय तहले मात्र गरेर सम्भव नहुने भन्दै प्रदेश र संघीय सरकारसँगको समन्वयमा सञ्चालन हुन आवश्यक रहेको बताइएको छ । उत्पादकत्व वृद्धि गर्न गुरु किसानमार्फत प्रोत्साहनलाई व्यवस्थित गर्न गुरु किसानमार्फत काम गर्ने गाउँपालिकाको लक्ष्य रहेको भन्दै कार्यविधि जारी भइसकेको छ ।
गुणस्तरीय उत्पादन निरन्तर भएमा माग बढ्ने र बजारको समस्या नहुने भन्दै सोका लागि गुरु किसान छनोट र परिचालन गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ । ज्ञान सीप र दक्षताका आधारमा अग्रणी किसान छनोट गर्ने र व्यावहारिक एवम् अघोषित प्राविधिक रूपमा किसानसमक्ष परिचालन गरिने गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए । उनका अनुसार सबै ठाउँमा दक्ष प्राविधिक खटाउन नसक्दा कृषि पेशा अंगालेका धेरै किसानले प्राविधिक ज्ञान पाउन नसेको र कृषि पेशाबाट पलायन भइरहेको भन्दै यस्तो कार्यक्रम ल्याएको जानकारी दिए ।
यो किसान लक्षित कार्यक्रम भएकाले सबै किसानलाई समेट्न सकिने बताइएको छ । ‘कृषि पेशालाई सम्मानित पेशा बनाउन गुणस्तरीय उत्पादनमा उहाँहरूले पनि जोड दिनुपर्छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने । उत्पादकत्व वृद्धि भएपछि मात्र किसान समृद्ध हुने र सिंगो गाउँपालिकासमेत सम्पन्न हुने उनको भनाइ छ ।
गाउँपालिकाले गुरु किसानलाई आर्थिक एवम् प्राविधिक सहयोग गर्ने जनाइएको छ । गुरु किसान घोषणा गरेर अन्य किसानमाझ खटाउँदा कृषि पेशामा रहेका किसानलाई समेत आत्मसम्मानसहित कृषिलाई निरन्तरता दिन हौसला प्राप्त हुनेछ ।
साथै अन्य किसानसमक्ष ज्ञान बाँड्न खटाउँदा कृषि पेशामा लाग्दै गरेका नयाँ किसानलाई समेत हौसला प्राप्त हने अपेक्षा लिइएको छ ।
कृषिमा आत्मानिर्भर हुँदै व्यावसायिक कृषिलालाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेसा बनाउनसमेत यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । यो कार्यक्रमपछि नेपालमा नै केही गर्न चाहने युवालाई समेत आत्मानिर्भरको बाटो खुल्ने छ । साथै वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने मान्यतासमेत तोडिने बताइएको छ । कार्यक्रम लागू भएपछि युवाशक्तिसमेत यहीं थामिने लक्ष्य लिइएको छ ।
गाउँपालिकाले यससम्बन्धी कार्यविधि नै जारी गरिसकेको छ । कार्यविधि अनुसार सम्बन्धित किसान सोही गाउँपालिकाको हुनुपर्नेछ । साथै नेपालको संविधान २०७२ को अनुसूची ८ को बुँदा नम्बर १५ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद (३ को उपदफा (ण)सँग सम्बन्धित रहेर गुरु किसान कार्यविधि २०८० जारी गरिएको हो ।
किसानले व्यावहारिक ज्ञान पाउने भएपछि सिजनअनुसारका कृषि उपजसमेत उत्पादनमा सहज हुने अपेक्षा लिइएको छ । समय र वातावरण सुहाउँदो बाली लगाउन र सिजनअनुसारकै उत्पादन एवम् बेमौसमी खेतीतर्फ समेत किसानको आकर्षण रहने बताइएको छ ।
कृषि पेसालाई आधुनिकिकरण गराउँदै निर्वाहमुखी र व्यवसायिक कृषि उत्पादनमा जोड दिनसमेत यो कार्यक्रमले मद्दत पुर्याउने अपेक्षा लिइएको बताइएको छ । कार्यविधि अनुसार कृषिलाई मुख्य पेसा बनाई ५० प्रतिशत शारीरिक एवम् मानसिक रूपमा समय दिनसक्ने किसानलाई यस कार्यक्रममा सहभागी गराइने छ ।
यस कार्यक्रम सुरु भइसकेको जनाइएको छ । अब गाउँपालिकास्तरीय छनोट एवम् सिफारिस समिति गठन गरिने छ । सो समितिले यस कार्यक्रममा सहभागी बन्न चाहाने किसानसमक्ष सहभागीताका लागि आह्वान गर्ने बताइएको छ । पशुपालन र कृषि पेसामा रहेर काम गरिरहेका अग्रणी किसान छनोट गर्ने र अन्य किसान समक्ष उनीको दक्षता बाँड्न यो कार्यक्रम लागू गरिएको बताइएको छ । कृषि पेसामा लागेका गाउँपालिकाका बासिन्दालाई तालिम, गोष्ठी, व्यवसाय परामर्श, व्यावसायिक योजना, आधुनिक औजार खरिदमा समेत यो कार्यक्रमले मद्दत गर्नेछ ।
नयाँ र कृषि पेसामा लाग्दै गरेका गाउँपालिकाका बासिन्दालाई पुनः काम, लगनशिलता एवम् दक्षताका आधारमा गुरु किसान घोषणा गरिने र अन्य किसानसमक्ष परिचालन गरिने बताइएको छ । कृषिजन्य तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि हुने र गाउँपालिकाका बासिन्दाको आम्दानी वृद्धि हुने बताइएको छ ।
यसबीचमा गुरु किसान र अन्य किसानसम्म तीन तहको सरकारबीचको सञ्जाल वृद्धि गर्ने साथै किसान एवम् सरकार विचको दूरी घटाउने बताइएको छ । यो कार्यक्रम लागू भएपछि सफल र असल अभ्यासलाई अन्य किसानसमक्ष पुर्याउनसमेत मद्दत पुग्ने अपेक्षा लिइएको छ । गुरु किसान छनोट तथा परिचालन निर्देशक समिति गठन गरेर काम अगाडि बढाइएको छ ।
जसमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति संयोजक, कार्यपालिका महिला समितिबाट दुईजना र कृषि विकास शाखा प्रमुख सदस्य सचिव रहेको समिति गठन गरिएको छ । सो समितिले किसान तथा गुरु किसानलाई परामर्शसहित काम गर्न निर्देशन दिनेछ । समितिले अनुगमन तथा सहयोगका लागि सिफारिससमेत गर्ने बताइएको छ ।
यो गाउँपालिका कृषि उत्पादनका हिसावले जिल्लाकै अग्रणी पालिकासमेत मानिन्छ । साथै झापासँग सीमा जोडिएको जिल्ला भएका कारण पनि उत्पादन भएका वस्तु बजारीकरणमा समस्या नहुने गरेको छ । यहाँ उत्पादित कृषि वस्तु, झापाका विभिन्न बजार हुँदै इटहरी, विराटनगर, काठमाडौं लगायतका स्थानमा जाने गरेका छन् । कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यो गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ, रोङ मह, सिस्नोको उत्पादन तथा ब्रान्डिङ लगायतमा सफलता प्राप्त गरिसकेको छ ।