Logo

विहार र गेष्ट हाउसको अध्ययन गर्न समिति गठन

भैरहवा– लुम्बिनी भित्रका विभिन्न विहार, होटल एवं गेष्टहाउसले दिने साेवाकाे अध्ययन गर्न समिति गठन गरिएकाे छ । लुम्बिनी भित्रका विहार र गेष्टहाउसले हाेटल सरह सेवा दिएको भन्दै त्यहाँका व्यवसायीहरु आन्दोलित भएपछि लुम्बिनी विकास कोष क्षेत्रभित्र बनाइएका विहार, गुम्बाहरूको वस्तुस्थिति अध्ययन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।

पर्यटन व्यवसायीहरुको आन्दोलनको माग सम्बोधन गर्न भन्दै लुम्बिनी विकास कोषले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार समितिमा लुम्बिनी विकास कोषका २ जना पदाधिकारी, लुम्बिनी होटल संघ (लहान)का २ जना, जिल्ला प्रशासन कार्यालय रूपन्देही, लुम्बिनी–सांस्कृतिक नगरपालिका र इलाका प्रहरी कार्यालय लुम्बिनीका एक–एक जना प्रतिनिधि रहेका छन् ।

समितिले १५ दिनभित्रै प्रतिवेदन बुझाउने गरी आइतबारबाटै कार्यआरम्भ गरेको भट्टराईले बताए । समिति गठन भएसँगै व्यवसायीले तत्काल आन्दोलन पनि स्थगित गरेका छन् । समिति गठन गर्न कोष तयार भएपछि आन्दोलन स्थगित भएको लुम्बिनी होटल संघ (लहान) नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्