Logo

अवकाश प्राप्त कर्मचारी उपदान रकमबाट वञ्चित

हेटौंडा सिमेन्टका पूर्वकर्मचारी आन्दोलित

हेटौंडा– हेटौंडा सिमेन्टका पूर्व कर्मचारी आन्दोलित भएका छन् । विगत ५ वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगले अवकाश प्राप्त कर्मचारीको उपदान रकम करिब १८ करोड रुपैयाँ भुक्तान नगरेपछि उनीहरु आन्लालित भएका हुन् । करिब २ वर्षयतादेखि पालैपालो अवकाश पाएका २७ जना कर्मचारीले उपदान रकम अझसम्म पनि पाउन सकेका छैनन् ।

उद्योग घाटामा रहेको र सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था भएपछि अवकाश प्राप्त कर्मचारीको उपदान रकम भुक्तान गर्न नसकिएको उद्योगको भनाइ छ । अवकाश पाएका कर्मचारीलाई तह अनुसार प्रतिव्यक्ति ४० लाखदेखि ८० लाख रुपैयाँसम्म भुक्तानी दिनुपर्नेछ । अवकाश पाएको दुई वर्ष भइसक्दा समेत उपदान रकम नपाएको भन्दै उद्योगका पूर्वकर्मचारी आन्दोलनमा उत्रेका हुन् । पूर्वकर्मचारीहरुले उपदान वापतको रकम यथाशीघ्र पाउनुपर्ने माग गर्दै उद्योग प्रशासनको गेटमा चैत १५ देखि दैनिक धर्ना सुरु गरेका छन् ।

सेवा निवृत्त भएको ३५ दिनभित्र उपदान वापतको रकम प्राप्त गर्नुपर्नेमा करिब २ वर्ष बित्न लाग्दासमेत रकम नपाएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको संघर्ष समितिका सहसंयोजक शिव अधिकारीले बताए । ‘उद्योगले हाम्रो उपदान दिन आलटाल गरिरहेको छ, उपदान दिने मनसाय नै देखिएन ।’ अधिकारीले भने,‘ कर्मचारीले नियमित तलब खाइरहेका छन्, अनि उपदान रकम पालैपालो भए पनि दिनुपर्दैन ?’

उपदान रकम नपाएपछि पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए । पुस २५ गते भएको वार्ताबाट पालैपालो गरी २०८० असार मसान्तसम्म सबै कर्मचारीलाई उपदान रकम दिइ सक्ने गरी उद्योग प्रशासनले सहमति गरेको थियो । सो सहमति बमोजिम उद्योग प्रशासनले हालसम्म एक जनालाई मात्र उपदान वापतको रकम दिएको र तोकिएको समयभित्र सबैजनाले उपदान नपाउने निश्चित भएपछि पुनः आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका सहसंयोजक अधिकारीले बताए ।

पूर्वकर्मचारीले चैत १५ देखि २३ सम्म बिहान १० बजेदेखि १२ बजेसम्म प्रशासन भवन अगाडि दैनिक धर्ना दिने, २५ गतेदेखि ३० गतेसम्म धर्ना दैनिक १ घण्टा बढाउने निर्णय गरेका छन् । सो समयसम्म पनि माग पूरा नभए धर्ना दिने समय बढाउँदै लैजाने र वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने पूर्वकर्मचारीले चेतावनी दिएका छन् ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले पूर्वकर्मचारीको माग जायज भएको तर, उनीहरुलाई उपदान रकम उपलब्ध गराउन उद्योगसँग रकम नै नभएका कारण समस्या भएको बताए । ‘सिमेन्ट बिक्रीको अवस्था निराशाजनक छ, उत्पादन लागत बढी भएका कारण हामी निरन्तर घाटामै छौँ । यस्तो अवस्थामा उपदान रकम भुक्तानी दिन सकिएन,’ पाण्डेले भने ।

उद्योग अवस्थाको बारेमा उद्योग मन्त्रालयमा आफूले पटक–पटक जानकारी गराएको र उपदानलगायतको उद्योगको दायित्व रकम भुक्तान गर्नेबारे कुनै निर्णय गर्न आफूले आग्रह गरिरहेको पाण्डेले बताए । ‘यो त सरकारी उद्योग हो, हाम्रो अभिभावक भनेको उद्योग मन्त्रालय हो । उद्योग निरन्तर घाटामा छ, उपदानलगायतको दायित्व तिर्ने र अन्य विकल्प तयार गर्ने कुरामा मन्त्रालयले नेतृत्व लिनपर्छ,’ पाण्डेले भने ।

पाण्डेका अनुसार हेटौंडा सिमेन्ट उद्योगको वर्तमान दायित्व ६० करोडभन्दा बढी छ । उद्योगमा कोइला ल्याउने सप्लायर्सको करिब २५ करोड, उपदानवापतको करिब १८ करोड, बिजुलीवापतको करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ । कर्मचारीको सञ्चयकोष, बीमा, नागरिक लगानी कोषको रकम गत भदौयता जम्मा गर्न नसकिएको महाप्रबन्धक पाण्डेले बताए ।

करलगायतको दायित्व पनि भुक्तान गर्न सकिएको छैन । सिमेन्ट उत्पादन र बिक्रीबाट प्राप्त रकमबाट कर्मचारीको तलव भने नियमित गरिएको छ । सिमेन्ट उद्योग लगातार पाँच वर्षदेखि निरन्तर घाटामा रहेको छ । आव २०७४/०७५ मा १६ करोड ३६ लाख नाफामा रहेको उद्योग २०७५/०७६ मा १ करोड ५ लाख रुपैयाँ घाटामा गएको थियो । आव २०७६/०७७ मा आइपुग्दा उद्योगको घाटा चुलिएर २३ करोड ८२ लाख रुपैयाँमा पुग्यो ।

आव २०७७/०७८ मा पनि घाटाको निरन्तरता कायमै रह्यो । अघिल्लो वर्षको तुलनामा घाटा केही कम भई १७ करोड ४ लाखमा झरेको थियो । त्यसवर्ष उद्योगले १८ लाख ५३ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो । आव २०७८/०७९ मा पनि उद्योग १० करोड ६९ लाख घाटामै चल्यो । बितेको आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणको काम सकिएको छैन । गत वर्ष पनि बिक्री सन्तोषजनक नभएकाले अघिल्लो वर्षकै हाराहारीमा घाटा हुने अनुमान उद्योगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्