हाटबजारमा स्थानीयको भीड

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका चक्रबहादुर लिम्बुले आफ्नै घरनजिकै रहेको साप्ताहिक बजारमा खसीबोका बिक्री गर्दै स्थानीय बजारमा किनमेल गरी दशैं मनाए । यसरी दशैं मनाउने लिम्बु एक प्रतिनिधि पात्रमात्र हुन् । अहिले जता बाटो उतै व्यापार भनेझै, सडक सञ्जाल विस्तार भएका धनकुटाको ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारमा दसैं तिहारका लागि चाहिने सबै सामग्री पुग्न थालेसँगै स्थानीय बजारले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।
प्रायः साप्ताहिक र पाक्षिक रूपमा वर्षभरि लाग्ने यस्ता हाटबजार दसैं तिहारको बेला भने निकै ठूलो आर्थिक कारोबार हुने गर्दछ । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाटबजारमा दशैंतिहार नजिकिएसँगै खसीबोका र मासुजन्य पंक्षिको बिक्री गरी चाडबाडका लागि चाहिने सामग्री जोहो गर्नेको घुइँचोले गर्दा राम्रो व्यापार हुने भएकाले टाढाटाढा देखिका व्यापारीहरू समेत यस्ता हाटबजारमा व्यापारका लागि पुग्ने गर्दछन् । धनकुटाको सिंधुवामा भेटिएका धरानका घुम्ती व्यापारी मनीष यादवले भने दसैंतिहारका बेला ग्रामीण क्षेत्रमा लाग्ने हाट बजारमा व्यापार राम्रो हुन्छ, त्यसैले दसैंतिहारसम्म पहाडका ग्रामीण क्षेत्रमै व्यापार गरेर छठ अगाडि तराई झर्ने योजना बनाएको सुनाउँछन् । सांस्कृतिक पर्व भनिए पनि दशैंतिहारलाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ ।
चाडबाडको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकाले बजारमा सामग्री प्रदर्शनको र होडबाजीसमेत चलेको छ छुट अफरले गर्दा उपभोक्ता पनि कहाँ कति छुट छ भनी सोध्न थालेको व्यवसायी सुदिप थापा बताउँछन् । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्किँदै गएको छ । सडक विस्तार भए पनि यातायात पुग्न नसकेका स्थानका सर्वसाधारण भने किनमेलका लागि सदरमुकाम नै आउने गरेका छन् । व्यापारिका लागि चाडबाड कमाउने मौका बनेर आएको छ भने अकासिँदो महँगी, पसल पिच्छेको फरक मूल्यले गर्दा सर्वसाधारण हैरान बनेका छन् । मौकामा चौका हन्न पल्किएका व्यापारी र त्यसमा आँखा चिम्लेर समर्थन गर्ने प्रशासन र उपभोक्ता हितका लागि गठन गरिएका विभिन्न संस्थासमेत मिसावट र कृत्रिम मूल्य वृद्घिका बारेमा चाल नपाएजस्तो गर्ने गलत प्रवृत्तिले सर्वसाधारण ठगिने क्रम बढ्दै गएको सर्वसाधारणको गुनासो छ । नाममात्रैको मौसमी अनुगमनले बजारमाथि नियन्त्रण, स्वच्छता र शुद्धता कायम गराउन सकेको छैन । ब्यापारीको मनोमानी र नियामक सरकारी निकाय निरिह बन्दा उपभोक्ता अन्याय सहन बाध्य भएको उपभोक्ता हित संरक्षण मञ्च धनकुटाका अध्यक्ष घनेन्द्र न्यौपाने बताउँछन् । यता खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्र भने बजार अनुगमन गुणस्तर मापनलगायतका कार्य प्रशासन र स्थानीय निकायको सहयोगमा कार्यालयले निरन्तर गरिरहेको बताउँछन् ।
विकास घिमिरे