Logo

कालोसूचीको अवस्था

करिब दुई वर्षयतादेखि अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव चारैतिर देखिन थालेको छ । पछिल्ला दिनमा बैंक तथा वित्त संस्थाको कर्जा नतिर्ने तथा चेक बाउन्स भएको आरोपमा दैनिक औसतमा डेढ सयभन्दा व्यक्ति वा संस्था कालोसूचीमा पर्न थालेका छन् । कर्जा नतिर्ने र चेक बाउन्सको आरोपबाहेक समयमा काम नगरेका कारण कालोसूचीमा पर्ने निर्माण व्यवसायीको संख्या पनि धेरै छ । गत साता मात्र दुई दर्जनको हाराहारीमा निर्माण व्यवसायी कालो सूचीमा परेका थिए ।

यस्तो तथ्यांकले समस्या निकै गम्भीर बन्दै गएको संकेत गरेको छ । सरकारले व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने नराख्ने जिम्मेवारी कर्जा सूचना केन्द्रलाई दिएको छ । केन्द्र आफैंले कालोसूचीमा राख्ने होइन । व्यक्ति तथा संस्थालाई कालोसूचीमा राख्न सम्बन्धित बैंक तथा वित्तीय संस्था र कार्यालयहरूले सिफारिस गर्नुपर्छ । केन्द्रको पछिल्लो तथ्यांकअनुसार ऋण नतिरेका कारण कालोसूचीमा पर्ने धेरै छन् । अघिल्लो वर्षभरिमा ३० हजार हाराहारी मात्र कालोसूचीमा परेका थिए ।

त्यसअघिका दुई वर्ष कालोसूचीमा क्रमशः ३४ हजार र १५ हजार परेका थिए । यो वर्षको चैत १२ सम्म २७ हजार ६ सयभन्दा बढी व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् । यो चैत र असारसम्म पनि कर्जा असुलीको अवस्थामा सुधार आउने अवस्था छैन । यसले कालोसूचीमा पर्नेको संख्या झनै बढाउनेछ । यो आर्थिक वर्षमा कालोसूचीमा पर्ने संख्या गत वर्षहरूभन्दा धेरै हुने देखिएको छ । पछिल्लो समय राष्ट्र बैंकले कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।

अर्थतन्त्रमा सुधार नआएसम्म कालोसूचीमा पर्नेको संख्या घट्ने होइन बढ्दै जानेछ । अर्थतन्त्रमा सुधार कहिले आउँछ, कसैले भन्ने अवस्था छैन ।

ऋणीलाई सहज हुने गरी ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न दिने समय ३५ बाट बढाएर ९० दिन पुर्‍याइएको छ । मुलुकको अर्थतन्त्रको बाह्य पाटो सक्षम छ । बाह्य सूचकहरू सकारात्मक छन् । त्यसमा पनि विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै सबैभन्दा सबल बनेको छ । शोधनान्तर अवस्था र चालु खातामा पनि कुनै समस्या छैन । आयात घटेका कारण विदेशी मुद्रा बचत भइरहेको छ । पर्यटन आगमन पनि क्रमशः बढ्दै गएको छ । यसबाट हुने आय पनि बढ्दै छ । तर, अर्थतन्त्रको आन्तरिक पाटो भताभुंग बनेको धेरै भइसकेको छ ।

कालोसूचीको यो समस्याको मूल कारण नै बिग्रेको अर्थतन्त्रले हो । आन्तरिक बजार चलायमान हुन सकेको छैन । बजारमा माग निकै घटेको छ । माग नै नभएपछि उत्पादन र आयात दुवैमा गिरावट आएको छ । आन्तरिक उत्पादन क्षमताको ४० प्रतिशत पनि पुगेको छैन । माग नै नभएका कारण आयातमा लगातार गिरावट आएको छ । बजारमा उत्पादनदेखि उपभोगसम्मको चक्र प्रभावित भएको छ । उद्योग–व्यवसाय नचलेका कारण सर्वसाधारणले रोजगारी गुमाउन पुगेका छन् । सुस्त अर्थतन्त्रका कारण सरकारले पनि राजस्व असुली गर्न सकेको छैन ।

राजस्व नउठेपछि सरकारले खर्च पनि बढाउन सकेको छैन । निजी क्षेत्र पनि सरकारको लगानीलाई हेरेर बसेको छ । निजी क्षेत्रमा थप लगानीको जोखिम उठाउन आँट देखिएको छैन । अर्थतन्त्रमा सुधार नआउँदासम्म बचेर बस्ने हो भन्ने मानसिकता निजी क्षेत्रको देखिएको छ । अर्थतन्त्रका सबै क्षेत्रमा सुस्तता आएका कारण पछिल्ला दुई वर्षमा बैंकको ऋण प्रवाह बढेको छैन । कर्जा बढेको भए त्यसले सबैतिर सकारात्मक प्रभाव पाथ्र्यो । अहिलेको अवस्था आउने थिएन । अर्कातिर लाखौं मानिसको लगानी भएको घरजग्गा कारोबार ठप्पजस्तै छ ।

पछिल्ला दिनमा घरजग्गाको मूल्य पनि घट्न थालेको छ । घरजग्गामा खर्बौं लगानी डम्प भएको अवस्था छ । लगानीको अर्को क्षेत्र सेयर बजार पनि माथि उठ्न सकेको छैन । नेप्से परिसूचक २ हजार बिन्दुको वरिपरि घुमिरहेको धेरै महिना भइसकेको छ । अर्थतन्त्रको आन्तरिक पाटोमा देखिएका यस्ता समस्याले अधिकांश ऋणीहरूले समयमा बैंकको किस्ता तिर्न सकेका छैनन् । किस्ता तिर्न नसक्दा ठुलो संख्यामा कालोसूचीमा पर्ने अवस्था आएको हो । अर्थतन्त्रमा सुधार नआएसम्म कालोसूचीमा पर्नेको संख्या घट्ने होइन बढ्दै जानेछ । अर्थतन्त्रमा सुधार कहिले आउँछ, कसैले भन्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्