Logo

वैदेशिक रोजगारीमा रहेका साढे ७ लाख सूचिकृत

सामाजिक सुरक्षामा साढे ५२ अर्ब रकम

काठमाडौं– सामाजिक सुरक्षा योजनाअन्तर्गत ५२ अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत विभिन्न क्षेत्रका १२ लाख ४२ हजार श्रमिकको योगदानबाट सो रकम संकलन भएको हो । यसरी संकलन भएको मध्ये ८ अर्ब ४० करोड ६६ लाख रुपैयाँ श्रमिकका नाममा दाबी भुक्तानी भएको छ । योजनामा सूचिकृत भएकामध्ये ७ लाख ५२ हजार वैदेशिक रोजगारीमा रहेका श्रमिक रहेका छन् ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको ५२ अर्ब ५१ करोडमध्ये विभिन्न ४ योजनाअन्तर्गत ८ अर्ब ४० करोड रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो । कोषका सह–प्रवक्ता रोहित रेग्मीले कोष संकलन भएको रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत आएका दाबी अनुसार रकम भुक्तानी भएको बताए । कोषले हाल सबैभन्दा बढी अवकाश दाबी भुक्तानीअन्तर्गत १ लाख ३४ हजार ६२६ जनालाई ८ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ५८ हजार २८ जनाले पटक पटक गरेर ९७ करोड ६७ लाख भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत क्रमशः १३ करोड २६ लाख र ११ करोड ४६ लाख रुपैयाँ भुक्तानी भएको छ । कोषमा हालसम्म १८ हजार ८०३ रोजगारदाता र १२ लाख ४२ हजार १८ योगदानकर्ता सूचिकृत भएका छन् । सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका रोजगारदाताले २० र श्रमिकको तर्पmबाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रूपमा जम्मा गर्नु पर्ने नियम रहेको छ ।

कोषले योजनामा रहेका बाहेक सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा दिँदै आएको छ । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु गरेको हो । कोषले सापटी योजना अन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना गत भदौ १ बाट सुरु गरेको थियो । यी ४ वटा सापटी योजनाअन्तर्गत विशेष सापटी सेवा लिनेको संख्या बढी रहेको कोषले जनाएको छ ।

योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजनामा कोषमा जम्मा भएको रकम ८० प्रतिशत लिन पाइने छ । योगदानकर्ताले विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० असी प्रतिशत रकमसम्म प्रदान गर्न सकिने प्रावधान रहेको छ । हाल औपचारिक बाहेक वैदेशिक रोजगार, अनौपचारिक तथा स्वरोजगार समेत सूचिकृत हुन सक्ने व्यवस्था कोषले गरेको छ ।

कोषमा आबद्ध हुन रोजगारदाता सूचिकृत भई आफ्ना श्रमिक तथा कर्मचारीहरूको समेत सम्पूर्ण विवरणसहित सूचिकरण गराउनु पर्ने नियम रहेको छ । सूचिकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने र सोही नम्बरमा जम्मा हुने गरी हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नु पर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्