Logo

कार्तिक मसान्तभित्र दोस्रो किस्ता लिइसक्न आग्रह

ललितपुर-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडित जनतालाई आग्रह गर्नु भएको हो ।
प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।
भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा छन् ।
भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनर्निर्माणमा ढिलाइ भएकोमा कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट जनता वञ्चित हुने सम्भावना रहेको बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर) का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिइ दोस्रो किस्ता नलिने, भूमिहीन व्यक्तिले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्व सम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुननिर्माण गर्न इच्छुक नहुनु लगायतका समस्या रहेको बताए ।

युनेस्को मिसनद्वारा भेट
काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रहरुको पछिल्लो अवस्था अध्ययन गर्न नेपाल आएको युनेस्कोको रियाक्टिभ मोनिटरिङ मिसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भेटघाट गरेको छ ।
भेटघाटमा २०७२ वैशाखको भूकम्पबाट क्षति भएका काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुर्नस्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भयो । त्यस क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण प्राधिकरणले सम्पदाहरुलाई विशेष प्राथमिकता दिइ पुनर्निर्माणलाई अघि बढाएको जानकारी दिए । उनले ती विश्व सम्पदा क्षेत्रमा पुनर्निर्माणका कार्य भइरहेको र दीर्घकालीन रुपमा अझ व्यवस्थित गर्नका लागि सबै पक्षलाई समेटेर विस्तृत गुरुयोजना निर्माण जारी रहेको पनि बताए ।
उनले काठमाडौं उपत्यकाका तीन र बाहिरका तीन परम्परागत सम्पदा बस्तीको विकास तथा रानीपोखरीको मौलिक पुनर्निर्माणलाई समेत अघि बढाइएको र विस्तृत गुरुयोजना पनि बन्दै गरेको जानकारी दिए ।
मिसनका लागि विश्व सम्पदा केन्द्रको प्रतिनिधित्व गर्नुभएको इन्टरनेशनल सेन्टर फर द स्टडी अफ दि प्रिजर्भेसन एण्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज (इक्रोम) का अन्तर्राष्ट्रिय विज्ञ गामिनी विजिसुरियाले सम्पदाहरुको उचित संरक्षणको अवसर रहेको उल्लेख गर्दै तिनको पुनिर्निर्माण कार्यको अभिलेखिकरण गर्न सुझाव दिइन् ।
त्यसैगरी, इन्टरनेशनल काउन्सिल अन मोनुमेन्टस् एण्ड साइट्स (इकोमस) की अन्तर्राष्ट्रिय विज्ञ क्याथरिन फोर्व्सले गुरुयोजना निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै आगामी फेब्रुअरीमा पुरातत्व विभागले पठाउने रिपोर्टको प्रगति समेट्न सल्लाह दिइन् ।
छलफलमा युनेस्को काठमाडौं कार्यालयका नेपाल निर्देशक क्रिस्टियन म्यानहार्टले युनेस्कोले सम्पदा पुनर्निर्माण गर्दा गतिमा भन्दा गुणस्तरमा ध्यान दिने उल्लेख गर्दै पुरातत्व विभागलाई नीति निर्माण गर्न अझ सक्षम हुने गरी बलियो बनाउन सुझाव दिए ।
सम्पदा क्षेत्रहरुको संरक्षणको अवस्था, यसअघिको एड्भाइजरी मिसनले गरेका सिफारिसको कार्यान्वनको अवस्था र ६ वर्षीय पुनर्लाभ गुरुयोजनाको कार्यान्वयन रणनीतिको विकासबारे मूल्यांकन गर्ने कार्यादेशसहित असोज २९ गते मिसन नेपाल आएको हो ।
भूकम्पबाट काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० वटा सम्पदाहरुमा क्षति पुगेकोमा हालसम्म ९० वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । अन्यको पुनर्निर्माण जारी छ ।
काठमाडौं उपत्यकाभित्र पशुपति, स्वयम्भूनाथ, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैगरी, प्राधिकरणले काठमाडौं उपत्यकाका सांखु, बुंगमती र खोकना तथा काठमाडौंबाहिरका गोरखा दरबारवरिपरी, नुवाकोट दरबार वरिपरी र दोलखा बजारलाई सम्पदा बस्तीका रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्