सिद्धार्थ भिलासा पाँचतारे होटलमा स्तरोन्नति
भैरहवा– सिद्धार्थ भिलासा होटल पाँचतारेमा स्तरोन्तति भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका– ८ मा अवस्थित सिद्धार्थ हस्पिटालिटी ग्रुपले गत वर्षको माघदेखि सञ्चालनमा ल्याएको उक्त होटललाई पर्यटन विभागले पाँचतारेको मान्यता दिएको हो । विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे होटलको मान्यता दिएको जनाएको छ ।
‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँचतारे स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिएको हो’ पर्यटन विभागले प्रदान गरेको प्रमाणपत्रमा उल्लेख छ । सिद्धार्थ भिलासा गाउँपालिकामध्येको पहिलो पाँच तारे होटल हो । अहिलेसम्म कुनै पनि गाउँपालिकामा पाँच तारे होटल सञ्चालनमा रहेका छैनन् । सिद्धार्थ हस्पिटालिटी ग्रुपले देशैभर सञ्चालनमा ल्याएको आफ्नो होटलमध्ये ‘सिद्धार्थ भिलासा’ ग्रुपको लग्जरी ब्राण्ड र पहिलो पाँच तारे होटल रहेको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै डेस्टिनेसन वेडिङ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको हो । लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकबीच यो होटल लोकप्रिय रहेको न्यौपानेको बताउँछन् । पाँच बिगाहा क्षेत्रफलमा फैलिएको होटलमा एउटा भिलासा एक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा कोठाहरु रहेका छन् । होटलमा साना–ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेष्टुरेन्ट रहेका छन् ।
होटलमा १ हजार ५ सय जना क्षमताको बैंकेट हल रहेको र उक्त बैंकेट नेपालकै सबैभन्दा ठूलो भएको दाबी गु्रपको छ । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने गरी नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी संरचना समेत निर्माण भइसकेको ग्रुपका अध्यक्ष चिन्तामणी ‘लक्ष्मण’ न्यौपानेले बताए ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको नामबाट देशका विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफेलगायतका सेवामूलक प्रतिष्ठान रहेका छन् । ग्रुपको नामबाट देशका विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफेलगायतका सेवामूलक प्रतिष्ठानको पहुँच पुगिसकेको छ । ग्रुपको आफ्नै लगानी तथा व्यवस्थापनमा कर्णालीको चिसापानी, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोबिघाट, चितवनको सौराहामा होटल तथा रेस्टुरेन्ट सेवा सञ्चालनमा छन् ।
त्यसैगरी एस क्याफे ब्राण्ड नाम रहेका क्याफे सेवाहरूमा बाँकेको नेपालगन्ज र कोहलपुर, काठमाडौंको तिनकुने, आर्मी अफिसर क्लब जंगी अड्डा परिसर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर भित्र मनमोहन कार्डियो तथा सुरेश बाग्ले भवनमा क्याफे सेवाहरू सञ्चालनमा छन् । कन्चनपुरको महेन्द्रनगर, दाङको लमही, कपिलवस्तुको चन्द्रौटा, नुवाकोटको बट्टार, मोरङको विराटनगर, झापाको बिर्तामोडमा व्यवस्थापन साझेदारीका रुपमा होटल तथा रेस्टुरेन्ट सेवा सुचारु रहेको छ ।
सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । आगामी वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटीमा बैंकेटसहितको रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजना रहेको ग्रुपका निर्देशक महेन्द्र न्यौपानेले बताए । आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरोन्नति गर्ने योजना रहेकोे जानकारी उनले दिए ।