वरिष्ठ साहित्यकार प्रधानको योगदानको चर्चा

विराटनगर– नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभाका वक्ताहरुले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् । अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याएको चर्चा गरे ।
उनले साहित्यका माध्यमबाट शासकको चरित्र, सुशासन, समाज सुधार र लैंगिक समानतालगायतका विषयमा फरक ढंगबाट प्रस्तुत गरेको उल्लेख गरे । प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आफ्ना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृत्तिलगायतलाई सशक्त रुपमा उठाउनु सामान्य कुरा नभएको टिप्पणी गरेका थिए । साहित्यकार देवी पन्थीले प्रधानले वाणी प्रकाशन स्थापना गरेर धेरैलाई साहित्यकार बनाएको स्मरण गरे । आफूलाई राष्ट्रियस्तरमै साहित्यकारका रुपमा स्थापित गराउन प्रधानको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
विराट साहित्य संगमको संयोजनमा भएको श्रद्धाञ्जलीसभामा परोपकार अभियान समूह, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, खोटा सामुदायिक सेवा मञ्च, बबरसिंह देवकुमारी थापा पुरस्कार गुठी, इन्द्रमोहन श्रेष्ठ स्मृति गुठी, नेपाल मुक्तक प्रतिष्ठान, कोशी, नेपाली लेखक संघ, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, नगेन्द्रप्रसाद आशालता रिजाल स्मृति प्रतिष्ठान, आरोहण गुरुकुल, राष्ट्रिय जनलेखक संघ, विराट आदर्श साहित्य मञ्चलगायत डेढ दर्जनभन्दा बढी संस्था आयोजकका रुपमा सहभागी भएका थिए ।