Logo

भारततर्फ निर्यातमा ध्यान देऊ

हामी धेरै विषयमा भारतमा निर्भर छौं, त्यसमध्ये एक हो- व्यापार । हाम्रो कुल वैदेशिक व्यापारमा भारतको हिस्सा अत्यधिक छ । हाम्रो वैदेशिक व्यापारको सञ्जाल विश्वका १ सय ७० भन्दा बढी मुलुकसँग जोडिएको छ । तर, कुल व्यापारको लगभग दुईतिहाइ हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । गत आर्थिक वर्षमा भारतसँगको व्यापारिक हिस्सा ६४.१३ प्रतिशत थियो । यो वर्षको फागुनसम्ममा ६४.४९ प्रतिशत छ । भारतसँगको हाम्रो व्यापारिक साझेदारी आयात र निर्यात दुवैतर्फ ठूलो छ । त्यसमा पनि आयातभन्दा निर्यातको हिस्सा झनै ठूलो छ ।

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांक मात्रलाई आधार मानेर हेर्ने हो भने पनि हाम्रो कुल निकासीमध्ये ६८.०९ प्रतिशत भारतमा भएको छ । आयातको हिस्सा ६१.९४ प्रतिशत मात्र छ । भारतसँग हाम्रो निर्यात व्यापार धेरै भए पनि पछिल्ला वर्ष यो खस्किँदै आएको छ । यो चिन्ताको विषय हो । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा भारतसँगको निर्यात व्यापारमा उतारचढाव आएको देखिन्छ । सामान्यतः प्रत्येक वर्ष धेरथोर भए पनि व्यापारिक हिस्सा बढ्दै जानुपर्ने हो ।

पाँच वर्षअघि आव २०७५–७६ मा नेपालले भारततर्फ ६२ अर्ब रुपैयाँको निर्यात व्यापार गरेको थियो । त्यसपछिका वर्षमा व्यापार क्रमशः ७० अर्ब, १ खर्ब ६ अर्ब हुँदै १ खर्ब ५५ अर्बसम्म पुगेको थियो । नेपालको निकासी व्यापारले २ खर्ब पार गरेको त्यो वर्ष भारततर्फको निकासी व्यापार अहिलेसम्मकै सबैभन्दा बढी १ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ भएको थियो । तर, त्यसपछिका वर्षहरूमा निर्यात क्रमशः खुम्चिँदै गएको छ । गत वर्ष एक्कासि भारत निर्यात ५० अर्ब रुपैयाँले घटेर १ खर्ब ६ अर्बमा झर्न पुगेको छ ।

भारतसँग हाम्रो निर्यात व्यापार धेरै भए पनि पछिल्ला वर्ष यो खस्किँदै आएको छ । यो चिन्ताको विषय हो ।

यो अघिल्लो वर्षको तुलनामा झन्डै ३३ प्रतिशतको गिरावट हो । चालु वर्षको निर्यात अवस्था पनि राम्रो छैन । यो वर्षको आठ महिना पुग्दा ६८ अर्ब रुपैयाँ मात्र भारततर्फको निर्यात पुगेको छ । यो वर्षका आगामी दिनमा निर्यात बढ्न नसके यो वर्ष १ खर्ब रुपैयाँ पनि पुग्ने देखिँदैन । प्रत्येक वर्ष निर्यात व्यापार बढाउनुपर्नेमा खस्कँदै जाँदा पनि सरकार मौनजस्तै छ । जति निर्यात भएको छ त्यो निजी क्षेत्रको पहलबाट मात्र हो । सरकारले निर्यात बढाउन जेजति सहुलियत दिनुपर्ने हो, त्यो दिन सकेको छैन । व्यापारको आँकडा बढ्न नसक्नुमा यो पनि एउटा प्रमुख कारण हो ।

सरकारले निर्यातमा सहजीकरण गरे भारत निकासी बढाउन सकिने पछिल्लो उदाहरण सिमेन्ट र फलामे डन्डी बनेको सबैले देखेको विषय हो । भारतसँग बेला–बेलामा आउने व्यापारिक समस्याले पनि निर्यात व्यापार बढाउन अवरोध गर्दै आएको छ । भारतले नेपाली वस्तुलाई धेरै किसिमबाट सुविधाहरू प्रदान गरेको छ । अधिकांश वस्तुमा भन्साररहित सुविधा पनि दिइएको छ । तर, बेला–बेलामा भारतले गैरभन्सार अवरोध गर्दै आएको देखिन्छ । नेपालबाट धेरै परिमाणमा वस्तु निर्यात हुन सुरु भए भारतले विभिन्न बहाना झिकेर अवरोध गर्दै आएको छ । कहिले वस्तुको गुणस्तरमा प्रश्नचिह्न उठाइन्छ ।

कहिले क्वारेन्टाइनको समस्या आउँछ । कहिलेकाहीँ राज्य सरकारहरूले पनि अवरोध पुर्‍याउने गर्छन् । केही समयअघि गुणस्तरलाई देखाएर नेपालगन्ज नाकाबाट प्लाइउड निकासीमा भारतले प्रतिबन्ध लगाएको थियो । अहिले फेरि प्रतिबन्ध हटाएको छ । खासगरी कृषिजन्य उपजहरूको निकासीमा धेरै अवरोध हुँदै आएको छ । केही समय अवरोध गर्ने अनि पछि खोल्ने भारतीय नीति देखिन्छ । यस्तो नीतिले नेपाली व्यवसायीलाई हतोत्साही बनाउँदै आएको छ । निर्यातमा अवरोध भएपछि थप वस्तु उत्पादन गर्ने/नगर्नेमा नेपाली व्यवसायी अन्योल बन्दै आएका छन् ।

नेपालले भारतसँग निर्यात व्यापार बढाउन सबैभन्दा पहिले सरकारले निजी क्षेत्रले मागेअनुसारका सहुलियत दिन सक्नुपर्छ । भारतीय वस्तुसँग प्रतिस्पर्धा गरेर नेपाली सामान बिक्री गर्न सक्नु आफैंमा ठूलो पहाड फोडेजस्तै हो । अर्को, भारतीय पक्षबाट बेला–बेलामा हुँदै आएको गैरभन्सार अवरोध अबदेखि नहुने वातावरण बनाउन सक्नुपर्छ । त्यसो भए मात्र नेपालको निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न सक्छ । यसका लागि सरकारी तवरबाटै पहल हुनु जरुरी छ । यस्तो वातावरण बनाउन नसके भारतमा हुने निकासी बढ्न सक्ने सम्भावना देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्