Logo

चितवनकै नाममा पर्सा निकुञ्ज ब्राण्डिङ गरिने

बारा– सबै पूर्वाधार भएको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक सुनसान हुँदा चितवन राष्ट्रिय निकुञ्जकै नाम दिएर प्रवेशद्वारको रूपमा एकीकृत बनाई सञ्चालन गरीने तयारी थालिएको छ । विश्वव्यापी ब्राण्डिङ बनेको चितवन राष्ट्रिय निकुञ्जकै नाममा पर्सा निकुञ्जलाई एकीकृत गर्दा चितवन आउने भारतीय पर्यटकको पहिलो द्वार पर्सा निकुन्ज हुने देखेर दुवै निकुञ्जले सञ्चालनका लागि नीतिगत प्रक्रिया थालेका हुन् ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पर्सा निकुञ्जको बाटो हुँदै दैनिक सयौं भारतीय पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेपनि पर्सा निकुञ्ज भने पर्यटकबिहीन बन्ने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले पूर्वाधर विकास भइसक्दा पनि सोचेजति पर्यटन नआएपछि चितवन र पर्सा निकुञ्जलाई एउटै क्षेत्रभित्र समेटेर चितवनमा टिकट काटेर निकुञ्ज प्रवेश गरेको पर्यटकले पर्सा निकुञ्ज घुम्न सक्ने र पर्सामा टिकट लिएको पर्यटकले एउटै टिकटबाट चितवनसम्म घुम्न सक्ने वातावरण बनाउन नीतिगत रूपमै अगाडी बढ्न छलफल भइरहेको बताए ।

उनले भने, ‘चितवनकै नाममा ब्राण्डिङ गर्दा पर्सा निकुञ्ज चलायमान भएर मधेश प्रदेशकै समृद्धिको एउटा आधार बन्ने सक्ने देखेर छलफल अगाडी बढाएका हाैं ।’ चितवन निकुन्जको प्रवेश द्वार रहेको प्रचार भएसँगै पर्यटकको बसाई लम्बिने र पर्सा निकुन्ज भित्रका २ दर्जन भन्दा बढी मचानबाट वन्यजन्तु, चराचुरुंगी तथा प्राकृतिक रूपमा मनमोहक दृश्यहरू अवलोकन गर्दै प्रतापपुर, भाटा हुँदै पर्यटकले चितवन निकुन्ज प्रवेश गर्न सक्ने अधिकृत खतिवडाले बताए ।

पर्यटकलाई लक्षित गरी निकुन्जको ४ किमी भित्र पथलैया, सिमरा, अमलेखगञ्ज ५ तारे होटल निर्माण भएपनि पर्यटनको प्रतिफल यहाँका होटलहरुमा शुन्य बनेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालले बताए । उनले चितवन निकुन्जकै नाममा यो निकुन्ज सञ्चालन हुँदा यसको लाभ निश्चित रुपमा बारा पर्साको विभिन्न क्षेत्रले लिन सक्ने बताए । पर्सा राष्ट्रिय निकुञ्जभित्र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५९७ जना पर्यटकले अवलोकन गरेका छन् । जसमध्ये १३ जना सार्क मुलुक र १ जना अन्य मुलुकका पर्यटक रहेका छन् । गत वर्ष १ हजार ६५ जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्