लुम्बिनी विकासका लागि एनआरएनए र चार नगरपालिकाबीच समझदारी

बुटवल– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र बुद्ध परिपथका ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केसी, एनआरएनएका पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुव खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा गैरआवासीय नेपाली संघले लुम्बिनी र बुद्धपरिपथको विकासका लागि नगरपालिकाहरुसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणमा उत्प्रेरित गर्ने उल्लेख छ । त्यस्तै बुद्ध धर्मबारे विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, बुद्ध दर्शन सम्बन्धि संघ संस्था तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले पर्यटकको वातावरण तयार गर्न तथा नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन आफूहरुले बुद्धपरिपथका नगरपालिकासँग सहकार्य गरेको बताए । ‘हामी ७० लाख नेपाली बाहिर छौं । त्यतिले एक एक जना मान्छे भित्र्याउन सकेपनि असंख्य पर्यटक भित्र्याउन सक्छौं भन्ने अवधारणा हो’ उनले भने, ‘लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ । बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरु छन् । तिनिहरुको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरु एक हप्ता लुम्बिनी बस्छन् ।’
बुद्ध र शान्तिको सन्देशसँगै आफूहरुले नेपालको संम्पदा र संस्कृतिको प्रचार प्रसार गर्ने केसीको भनाइ छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमानले एनआरएनएसँगको समझ्दारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा सघाउ पुग्ने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्थानीय तहबाट बुद्धस्थलको विकासका लागि सक्दो प्रयास गरेको र त्यसमा एनआएनएले काँध थापेको उल्लेख गरे । समझदारी पत्रमा नभई आफ्नो सपना र विश्वासमा हस्ताक्षर गरेको अनुभव भएको उनले सुनाए ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले विदेशमा बसेका नेपालीले लुम्बिनीसँगै अन्य बुद्धस्थलकोे पर्यटनमा चासो राखेको भन्दै निकै खुशी लागेको बताए । देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले स्थानीय नगरपालिकालाई पनि एकै ठाउँमा राखेर सञ्चालन गरिने यो कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने उल्लेख गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका बुद्ध जन्मस्थल लुम्बिनीमा पर्दछ । कपिलवस्तु नगरपालिकाको तिलौराकोट बुद्धले २९ वर्ष बिताएको ठाउँ हो ।
देवदह गौतम बुद्धको मावली स्थल हो । त्यस्तै रामग्राम बुद्धको अस्तुधातु रहेको स्थान हो । लुम्बिनीसँगै अन्य बुद्धस्थलको प्रवद्र्धन हुन सकेको छैन । कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद मिना श्रेष्ठले बुद्धको प्रचारमा यसअघि धेरै कुरा छुटेको भन्दै समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमले छुटेका कुरा पुरा हुँदै जाने बताइन् । उनले कोशीमा पनि यस्ता कार्यक्रम ल्याउन एनआएनएसँग आग्रह गरिन् ।