Logo

योजनाबाट बचेको बजेटले प्रशासकीय भवन निर्माण

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले संघ प्रदेशका समपूरक शीर्षकका योजनाको घटीघटाउबाट बचेको बजेटले नयाँ प्रशासकीय भवन निर्माण गरेको छ । संघ प्रदेशबाट विनियोजित भएका समपूरक शीर्षक बजेटका योजनाबाट घटीघटाउ भई बचेको बजेटले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।

कन्टिजेन्सी र घटीघटाउबाट बाँकी रहेको बजेटलाई प्रायः कार्यालय सञ्चालन खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्तालगायत अन्य सेवा सुविधामा खर्चिने गरेका छन् । तर स्थापनाकालदेखि भाडाकै घरमा बस्दै आएको तातोपानीले सोही रकमबाट दुई तले पक्की भवन निर्माण गरेको छ । पालिकाबाट सञ्चालन हुने संघ, प्रदेशका सबै योजनाबाट १५ प्रतिशत कन्टिजेन्सी रकम काट्ने प्रावधान छ ।

योजनाको कुल बजेटमध्ये १५ प्रतिशत रकम काटेर बाँकी रकम उपभोक्ता समितिलाई भुक्तानी गरिन्छ । जुन पालिकाको खातामा जम्मा हुन्छ । प्रायः कन्टिजेन्सी रकम विलासिता तथा अनुत्पादन क्षेत्रमा खर्च भइरहेको अवस्थामा सोही रकमबाट तातोपानीले देखिने संरचना खडा गरेको छ । संघ र प्रदेश सरकार समपूरक अनुदानका योजनामा ठेक्कामार्फत निर्माण गर्दा घटीघटाउबाट बचेको बजेटले नयाँ भवन निर्माण गरिएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा ४० लाख विनियोजन गरिएकोमा २५ लाख खर्च भएको र चालु आवमा गत वर्षकै बजेटमा थप गरेर पुनः ४० लाख छुट्याइएको छ । भवन निर्माण गरी सञ्चालनमा समेत आएको छ । भाडाकै घरमा बस्दै आएको तातोपानीले आफ्नै भवन बनाए पनि आर्थिक व्ययभार पनि घटेको छ भने कार्यपालिका बैठक, गाउँसभालगायत अन्य तालिमसमेत अध्यक्षकै कार्यकक्षमा गर्नुपर्ने बाध्यता अन्त्य भएको प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।

पहिला भाडाका घरमा छरिएर रहेका कृषि, शिक्षा, पशु, महिला तथा बालबालिका, स्वास्थ्य, उद्यम विकास, पञ्जीकरण लगायतका शाखा अहिले एउटै भवनमा छन् । आफ्नै भवन निर्माण पश्चात नागरिकलाई सेवा लिन पनि सहज भएको छ । समपूरक अन्तर्गतका दर्जनौं योजना संघ प्रदेश र स्थानीय तहको म्याचिङ फन्टबाट सञ्चालित भइरहेका छन् । समपूरकका योजना ठेक्कामार्फत निर्माण गर्दा घटीघटाउबाट बचेको तथा अपुग बजेट कन्टिजेन्सीको रकम थपेर भवनलाई पूर्णता दिइएको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले फजुल खर्चभन्दा पालिकाको संरचनागत विकासमा जोड दिएको बताए । आवश्यक नीति र पूर्वाधार निर्माणपछि मात्रै पालिकाले गति लिनसक्छ । उनले भने, ‘भवन निर्माणका लागि संघमा बजेट माग गर्दा ढिलाइ हुने देखियो । छरिएर भाडाका घरमा रहेका शाखाले नागरिकमैत्री सेवा दिन सकिएन । त्यसैले योजनाकै घटीघटाउबाट बचेको बजेटले भवन निर्माण गरेका हौं । अहिले सबै शाखा आफ्नै भवनमा छन् । सेवा प्रवाहमा पनि छिटो छरितो छ ।’

प्रतिक्रिया दिनुहोस्