गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको ३०४औं बैठकले यस विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहेका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।