Logo

भैरहवाबाट निर्यात बढ्यो

भैरहवा– गत वर्षको तुलनामा भारत तथा तेस्रो मुलुकमा निर्यात व्यापार घटिरहेको अवस्थामा भैरहवा नाकाबाट हुने निकासीमा वृद्धि भएको छ । गत वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा भैरहवा नाका हुँदै निकासी ४० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको ८ महिनाको तुलनामा चालु वर्षको ८ महिनामा देशको समग्र निकासी ३.९९ प्रतिशतले घटेको छ ।

चालु वर्षको ८ महिनामा समग्र देशको निकासी १ खर्ब ६१ करोड रुपैयाँ छ । जबकि गत वर्ष सोही अवधिमा १ खर्व ४ अर्ब मूल्य बराबरका सामान निकासी भएको थियो । भैरहवा नाका हुँदै चालु वर्षको फागुन मसान्तसम्म ९ अर्ब ४२ करोड रुपैयाँका विभिन्न सामान भारत तथा तेस्रो मुलुकमा निकासी भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ७३ करोड रुपैयाँका सामान निकासी भएको थियो ।

अहिले गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि भएको हो । केही मात्रामा भए पनि व्यापार घाटा न्यूनीकरण गर्न यो नाकाले सहयोग पुर्‍याएको भन्सार अधिकृत गौतमले बताए । विगतमा भन्दा चालु वर्षमा खैरो सिमेन्ट, क्लिङकर, प्लाइउड, वनस्पति उत्पादन, सेन्थेटिक यार्न, पिना, अदुवा सुठो, चाउचाउ,नुडल्स, पास्तालगायतका वस्तुको निकासी गत वर्षको तुलनामा बढ्दा निकासी दर गत वर्षभन्दा बढेको गौतमले बताए ।

चालु वर्षमा सिमेन्ट क्लिङकर निकासी राम्रो देखिएको छ भने सेन्थेटिक यार्न, प्लाइउडलगायत अन्य वनस्पति सामानहरू समेत बढी निकासी भएको छ । सरकारले भारतमा निकासी हुन सक्ने सम्भावना भएका वस्तुहरूको अध्ययन गरी निकासी प्रवर्द्धन गर्न सके निर्यात व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।

हाल भइरहेको वस्तुहरूको निकासीमा समेत सरकारले अनुदान छुटलगायतको व्यवस्था गर्न सके अझ व्यवसाय बढ्ने भएकोले सोही अनुसारको वातावरण सिर्जना राज्यले गर्नु पर्ने माग सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको छ । भन्सार एजेन्ट महासंघ नेपालका सचिव समेत रहेका घिमिरे भन्छन्,‘आउने बजेटमार्फत निकासीलाई अझ बढी प्रभावकारी बनाउने नीतिहरू सम्बोधनको अपेक्षामा हामी छौं, जति बढी निकासी उति बढी व्यापार घाटामा कमी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्