डेढ दशक कम्लरी बसेकी थारु बनिन् उपसभामुख

बुटवल- डेढ दशकसम्म जमिन्दारहरुको घरमा कम्लरी बसेकी बर्दिया राजापुरकी एमाले सांसद कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित भएकी छन् । दुईजनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
संसद्मा उपस्थित ८५ जना सांसद्मध्ये दस्तखतसहित मत विभाजन प्रकृयाबाट थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । कांग्रेसबाट कपिलवस्तुकी सांसद रिना नेपाल विकले पनि उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा कांग्रेसका १९ सांसदले मात्र मत दिए । एमालेकी थारुलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका सांसदले समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्ट्रिय जनता पार्टीका एकजना सांसद् रहेपनि सपथ ग्रहण नगर्दै राजीनामा दिएकाले उपस्थिति रहेन । उपसभामुखमा निर्वाचित ४२ वर्षिया थारुले आफू ७ वर्षको उमेरदेखि निरन्तर १८ वर्षसम्म कम्लरी बसेको बताइन् । विवाहअघि आठ वर्ष र विवाहपछि ११ वर्ष कम्लरी बस्दा ६ जना जमिन्दार फेरेको थारुले बताइन् । विवाहपछि कम्लरी बस्दा श्रीमान्को तलबमा आफूले विना पैसा काम गर्नुपरेको उनले स्मरण गरिन् । प्रौढ कक्षाबाट लेखपढ गर्न सिकेकी थारुले औपचारिक शिक्षा भने कक्षा ७ सम्मको मात्रै लिएको बताइन् । “कमैयाको घरमै जन्म भयो, पढ्ने लेख्ने उमेरमा पनि कम्लरी नै बस्नुप¥यो, त्यही भएर धेरै पढ्न पाइन,” थारुले खुलाइन्, “कम्लरी बस्दा कैयौं दिन पानी मात्रै पिएर भोकै बस्नुपर्यो , मालिकले आफूहरुले खाएर बचेको खाना मात्रै दिन्थे । नभए भोकै बस्नुपथ्र्यो ।” २०५८ सालदेखि कम्लरी बस्न छाडेर कमैया मुक्ति आन्दोलनमा र २०६४ सालदेखि एमालेको राजनीतिमा लागेको थारुले बताइन् । आफ्नो बुबाले अझैपनि कमैया परिचयपत्र नपाएको र तीन कठा जग्गबाट गुजारा चलाइरहेको थारुले खुलाइन् । आफू उपसभामुख हुने निश्चित भएको खबर थाहा पाएपछि आफ्नो बुबा खुशीले रोएको थारुले सुनाइन् । “कम्लरी बस्दा स्वतन्त्र भएर बाँच्न पाउने अधिकार हनन् भयो । असाध्यै धेरै पीडा, अन्याय, अत्याचार भोग्नुपर्यो ,” उपसभामुखमा निर्वाचित भएपछि थारुले भनिन्, “‘पार्टीले उचित मूल्याङकन गरेर सम्मानित पदमा पुर्याएको छ, अहिले भने साँच्चिकै धेरै नै गर्वको अनुभूति भएको छ,यस्तो पदमा पुगौंला भन्ने सोचेकै थिइन ।” एक वर्षअघिसम्म भारतमा मजदुरी गर्ने श्रीमान्लाई कृष्णीले नै गाउंमै किराना पसल खोलेर स्वरोजगार बनाएको बताइन् । उनका एक छोरा र एक छोरी छन् । उपसभामुखको जिम्मेवारी पाएपछि उनले आफ्नो ध्यान संविधान कार्यान्वयन र आफू जस्तै पुर्व कम्लरी, हलिया,गरीब र विपन्न वर्गको पक्षमा कानुन निर्माणमा सक्रियातापुर्वक लाग्ने योजना रहेको बताइन् । पार्टीमा उनी एमाले जिल्ला कमिटी सदस्य रहेको थारुले बताइन् ।
टोपराज शर्मा