Logo

वाटरपार्कमा मोटरबोट सञ्चालन

नेपालगन्ज– पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालन भएको छ । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको हो । नेपालगन्जमा वाटरपार्कलगायत विभिन्न ताल तलैयामा पूर्वाधार निर्माण भएपनि पर्यटक आकर्षित हुन सकेका छैनन् ।

यहाँको वाटरपार्क, कान्तिताललगायत विभिन्न ताल तलैयामा पर्यटक प्रर्वद्धनका लागि पूर्वाधार विकास गर्नुका साथै वाटरपार्कमै रहेको चिल्ड्रेन पार्कमा थप सौन्दर्यीकरण गरी चलायमान बनाउने उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । विसं २०६५ मा सुरु भएको वाटरपार्क योजना अनुसार थप संरचना निर्माण गरी पर्यटकको आर्कषणको केन्द्र बनाइने उनको भनाइ छ ।

‘वाटरपार्कमा फराकिलो पक्की सडक निर्माणका साथै आवश्यक संरचना निर्माण भएका छन्’ उनले भने, ‘थप पूर्वाधार निर्माणका काम पनि अघि बढाएर पर्यटकको आर्कषक गन्तव्य बनाउँछौ ।’ वाटरपार्क क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जीप साइक्लिन, ग्यास बेलुनलगायत थप पूर्वाधार निर्माणका काम गरिने उनको भनाइ छ ।

हाल परीक्षणको रुपमा सञ्चालन गरिएको मोटरवोट सञ्चालनलाई सबैले सहजै जलविहार गरुन् भन्ने उद्देश्यले सस्तो शुलभ भाडादर कायम गरिने वडा नं– १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘हाल परीक्षणमा रहेको मोटरवोट सञ्चालनको खर्चलाई मध्यनजर गरी नेपालगन्जमा आउने पर्यटकलाई सस्तोमा धेरै जनालाई जलविहार यात्रा गराउन निश्चित शुलभ शुल्क कायम गरिने छ’ उनले भने ।

यसले यहाँको आन्तरिक पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक आय बढने उनको विश्वास छ । नेपालगन्जमा घुम्न लायक खुला पार्क खासै नभएकाले गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, बिहान बेलुका हिडडुल गर्न र थकान मेटाउन आन्तरिक पर्यटक आउने गरेका छन् । मोटरवोट सञ्चालनमा आएपछि यसले पर्यटकको चहल पहल बढाएको छ । १२ सय वर्गमिटरको तालमा चार फन्को मोटरबोटबाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

मोटरवोट सञ्चालनले यहाँको पर्यटक प्रर्वद्धनमा मद्दत पुग्ने हुँदा मोटरवोटसँगै सरसफाई, खाजा पानीसहितका अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । ‘यसले यहाँको आन्तरिक तथा सीमावर्ती भारतीय पर्यटक भित्र्याउन सहज हुनेछ’ उनले भने, ‘तर मोटरवोट सञ्चालन गरेर मात्र पुग्दैन सरसफाइका साथै थुप्रै काम गर्न जरुरी छ ।’

नेपालगञ्ज उप–महानगरपालिका–१ र १८ मा पर्ने वाटर पार्कमा मोटरवोट सञ्चालनका लागि उपमहानरपालिकले बोटेबोरा प्रालिलाई वार्षिक १९ लाख ५५ हजार रुपैयाँमा १० वर्षका लागि ठेक्का दिएको जनाएको छ । प्रारम्भिक चरणमा कम्पनीले २ वटा मोटरबोट सञ्चालनमा रहेपनि आवश्यकता अनुसार मोटरबोट संख्या थपिने कम्पनीले जनाएको छ । मोटरबोट सञ्चालनसँगै वाटरपार्कमा क्याफे, रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइने छ । प्रालिले हाल मोटरबोट चढेवापत प्रतिव्यक्ति २५० रुपैयाँ र विद्यार्थीलाई १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्