भुवन र एमेच्योर सदभाव शीर्ष स्थानमा

काठमाडौं– एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन समग्रमा ९–अण्डर १३५ को स्कोरमा संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन् । उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८–अण्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौं स्थानबाट संयुक्त रुपमा शीर्ष स्थानमा उक्लिए । पहिलो दिनका संयुक्त लिडर भुवनले मंगलबार ६–अण्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे । मंगलबार २–अण्डर ७० खेल्दै समग्रमा ४–अण्डर १४० सहित विजय तेस्रो स्थानमा रहेका छन् ।
समग्रमा १–अण्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे । युवराजले १–अण्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १–ओभर ७३ मा खेल सकेका थिए । भुवनकुमार रोक्का र बलभद्र राई इभन–पार १४४ को स्कोरमा संयुक्तरुपमा सातौं स्थानमा छन् । भुवनले २–अण्डर ७० र बलभद्रले इभन–पार ७२ को स्कोर निकाले । यस दिन १–अण्डर ७१ सहित समग्रमा १–ओभर १४५ को नतिजामा दिनेश प्रजापति नवौं स्थानमा र समग्रमा २–ओभर १४६ सहित सञ्जय लामा दसौं स्थानमा रहे । सञ्जयले मंगलबार २–ओभर ७४ मा खेल सके ।
३६ होलको समाप्तीमा १३–ओभर १५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन् । जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीपकुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्णमान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन् ।