‘किच्चकबध स्थल’ २२ सय वर्ष पुरानो

बिर्तामोड– भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित धार्मिक तथा पर्यटकीय स्थल ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौं पटक गरेको उत्खनन्बाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो ।
महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा चर्चित किच्चकबधमा पुरातत्व विभागले विसं २०५८ देखि हालसम्ममा सातौं पटक उत्खनन् गर्दा विभिन्न सामग्री भेटिएको हो । उत्खनन्का क्रममा भेटिएका प्राचिन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा संकलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व १२० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताए ।
विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौं चरणको उत्खनन् कार्य जारी रहेको बताइएको छ । यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचिन वस्तुको कार्बन परीक्षण गराइसकेको बताउँदै उनले त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भएको र यसपटकको सातौ पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेको जनाए । गत चैत २ देखि सुरु भएको सातौ पटकको उत्खनन् चैत १८ गतेसम्म जारी रहने उनले बताए ।
आचार्यको नेतत्वमा रहेको पाँच जनाको टोलीले किच्चकबधस्थलमै बसेर दिनभर उत्खनन् कार्य गरिरहेको बताइएको छ । किच्चकबधस्थललाई धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवं मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले बताए ।
किच्चकबधस्थललाई दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा भएको बताउँदै उनले थाइल्याण्ड, भारतलगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्व बढेको र यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल नरहेको जनाए । पुरातत्वविद् आचार्यले किच्चकबधस्थलमा सुरुदेखि नै उत्खनन्को नेतृत्व गरेको बताउँदै दाहालले यसको अन्तिमसम्म उनले उत्खनन् गर्ने जनाए ।
उत्खनन् भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन् टोलीले आग्रह गरेको दाहालले बताए । सरकारले उत्खनन्लाई निरन्तरता दिएपनि पर्याप्त बजेट नपठाउँदा क्रमागत रुपमा उत्खनन् गर्नु परिरहेको दाहालले गुनासो गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनी दुई हजार पाँच सय वर्ष पुरानो भएजस्तै किच्चकबधस्थल दुई हजार दुई सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य स्थलका रुपमा चिनाउन सकिने उनको भनाइ छ ।
सो स्थानमा फेला परेका प्राचीन पर्खाल, इँटालगायत उत्खनन् स्थलको उचित संरक्षण हुन नसकेको बताउँदै उनले आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजनाबिना भौतिक संरचना निर्माण गरिदिँदा पुरातात्विक सामग्री नष्ट हुने जोखिम बढेको जनाए । १० बिगाह क्षेत्रफलमा फैलिएको किच्चकबधस्थलमा पुरानो र नयाँ गरी दुई वटा किच्चकबधको मूर्ति, मानव निर्मित मन्दिर, पोखरी र सभाहल रहेको छ ।