Logo

नगद प्रवाह ३९ अर्बले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनाम ३९ अर्ब ९ करोड रुपैयाँले नगद प्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तसम्ममा कुल नगद प्रवाह ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख रहेको छ । जुन गत असारको तुलनामा ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार ३०५ रुपैयाँ बढी हो ।

२०८० असार मसान्तसम्मममा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । यसले आर्थिक गतिशीलता बढेको अनुमान गर्न सकिन्छ । आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ । केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् ।

राष्ट्र बैंकले चलन चल्तीमा देखाएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो । समीक्षा अवधिमा परिचालित नगद प्रवाह कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२.३५ प्रतिशत हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपालको मुद्रायक सम्पत्ति ३७ अर्ब ३० करोड २४ लाख रुपैयाँले घटेको छ । गत असारमा १ खर्ब ४४ अर्ब १३ करोड ६० लाख ४८ हजार रुपैयाँ रहेको स्थानीय मुद्रा प्रदाय सम्पत्ति फागुनसम्म आइपुग्दा १ खर्ब ६ अर्ब ८३ करोड ३६ लाख ६७ हजार रुपैयाँमा झरेको हो । यस अवधिमा विदेशी मुद्रा प्रदाय सम्पत्ति भने ३ खर्ब ८ अर्ब ३१ करोड ५४ लाख रुपैयाँले बढेको छ । फागुन मसान्तसम्ममा यस्तो सम्पत्ति १७ खर्ब ५२ अर्ब ३० करोड ५० लाख ९० हजार पुगेको छ ।

गत असारमा १४ खर्ब ४३ अर्ब ९८ करोड ९६ लाख ४४ हजार ३१ रुपैयाँ रहेको थियो । यस्तै आर्थिक वर्षको आठ महीना अवधिमा विदेशी मुद्राको दायित्व ९१ करोड ७२ लाख ३५ हजार रुपैयाँले बढेर ४६ अर्ब ३८ करोड ६ लाख ५९ हजार पुगेको छ । यस्तै स्वदेशी मुद्राको दायित्व पनि २ खर्ब ८ अर्ब ४३ करोड ६६ लाख रुपैयाँले बढेर १२ खर्ब ८१ अर्ब १४ करोड ७७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्