Logo

यो वर्ष भारततर्फ निर्यात एक खर्ब तलै

काठमाडौं– नेपालको वैदेशिक व्यापारको सञ्जाल विश्वका एक सय ७० भन्दा बढी मुलुकसँग जोडिएको छ । कुल व्यापारको लगभग दुईतिहाइ हिस्सा भने छिमेकी मुलुक भारतसँग हुने गरेको छ । कुल वैदेशिक व्यापारमा भारतसँगको हिस्सा गत आवमा ६४.१३ प्रतिशत रहेकोमा यो वर्षको फागुनसम्ममा ६४.४९ प्रतिशत छ । यो तथ्यांकले हाम्रो वैदेशिक व्यापार भारतसँग निर्भर रहेको प्रस्ट पार्छ ।

भारतसँग आयातभन्दा अझै बढी निर्यातमा हामी निर्भर बन्नुपरेको छ । यो फागुनसम्मको तथ्यांक हेर्ने हो भने कुल निकासीमध्ये ६८.०९ प्रतिशत भारततर्फ भएको छ । कुल आयातमा भारतको हिस्सा ६१.९४ प्रतिशत छ । नेपालले आव २०७८/७९ मा भारततर्फ अहिलेसम्मकै सबैभन्दा बढी १ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँबराबरको वस्तु निकासी गरेको थियो । भटमासको तेल, पाम आयललगायतका वस्तुहरूको निकासी उच्च हुँदा त्यस वर्ष निकासी बढेको थियो ।

गत आवमा निकासी व्यापार कमजोर हुँदा पनि नेपालले भारततर्फ १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको थियो । तर, यो वर्ष भारततर्फको निकासी व्यापार एक खर्ब रुपैयाँ पुग्ने सम्भावना देखिँदैन । चालु आवको फागुनसम्म भारततर्फ ६८ अर्ब ५१ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको छ । अबको बाँकी चार महिनामा ३१ अर्ब ४९ करोडको निकासी पुग्न कठिन छ । त्यसै पनि यो वर्ष निकासी व्यापार सुरुदेखि नै घट्दै गएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट निर्यात हुने वस्तुमध्ये पाम आयल र भटमासको तेल शतप्रतिशत भारततर्फ निकासी हुने गरेको छ । यस्तै, निर्यातमा दोस्रो स्थानमा रहेको धागोको ८३ प्रतिशत बजार भारत हो । आइरन एन्ड स्टिलका उत्पादनको ९८.३ प्रतिशत बजार पनि भारत नै हो । यस्तै, नेपालमा उत्पादित अलैंचीमध्ये ९९.७ प्रतिशत भारतमै निकासी हुन्छ भने जुट तथा जुटका उत्पादनको शतप्रतिशत निकासी भारतमा हो ।

केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहका अनुसार प्रमुख निकासीयोग्य वस्तुमध्ये तयारी पोसाकको हिस्सा भारततर्फ ३ प्रतिशत मात्र छ । यस्तै पस्मिना सलमा पनि भारतको हिस्सा ३.२ प्रतिशत मात्र छ । व्यापार विज्ञ रवि संैजू स्वेदशी उत्पादन क्षमता कमजोर हुँदा भारतसँग व्यापारघाटा बढ्दै गएको बताउँछन् । ‘हामीले भारतसँग परिमाण धेरै भए पनि मूल्य कम हुने कच्चा सामान मात्रै निर्यात गरेका छौँ,’ उनले भने । नेपालबाट निकासी हुने जुसमध्ये ९९.९ प्रतिशत भारतमा खपत हुने गरेको तथ्यांक छ । चिया निकासीमा पनि ८७.३ प्रतिशत हिस्सा भारतकै छ ।

यस्तै, नेपाली कपडाको मुख्य बजार पनि भारत नै हो । नेपालबाट निकासी हुने कपडामध्ये शतप्रतिशत भारतमै खपत हुन्छ । पास्ता र नुडल्समा ४६ प्रतिशत हिस्सा रहेको भारतमा जडिबुटीको ५८.३ प्रतिशत तथा अदुवाको ८७.७ प्रतिशत हिस्सा देखिन्छ । प्लाइउड, रोजिनलगायतका वस्तुको शतप्रतिशत निकासी भारततर्फ नै हुने गरेको छ । भारतसँग आयात व्यापारमा पनि तीव्र उतारचढाव देखिन्छ । कोरोना महामारीपछि आव २०७८/७९ मा भारतबाट अहिलेसम्मकै उच्च १२ खर्ब १५ करोड रुपैयाँबराबरका वस्तु आयात भएका थिए ।

त्यसपछिका वर्षहरूमा भने आयात बढ्न सकेको छैन । गत आवमा १० खर्ब २७ अर्ब र चालु आवको फागुनसम्म ६ खर्ब ३८ अर्बको वस्तु भारतबाट आयात भएको तथ्यांक छ । भारतसँग आयात–निर्यात दुवैमा कमी आउँदा व्यापारघाटा स्वभावैले कम भएको छ । आव २०७८/७९ मा आयात र निर्यात उच्च हुँदा व्यापारघाटाले रेकर्ड कायम गरेको थियो । त्यस वर्ष नेपालले भारतसँगको व्यापारमा १० खर्ब ४४ अर्ब ९३ करोड रुपैयाँबराबरको व्यापारघाटा बेहोरेको थियो ।

केन्द्रका उपनिर्देशक सिंहका अनुसार नेपालले निर्यातसँगसँगै आन्तरिक खपतमा पनि स्वदेशी उत्पादनलाई जोड दिने नीति लिनु जरुरी भइसकेको छ । भारतसँगको व्यापारको परिमाण बर्सेनि बढ्दै गएकाले कूटनीतिक तवरबाट सहुलियत प्राप्त व्यापारका सवालमा पनि हाम्रा मुद्दा पेचिलो बन्नुपर्ने देखिएको छ । उनका अनुसार भारतले नेपाललाई धेरै सुविधा दिएको छ, तर पनि हामीले आफ्नो तवरबाट निर्यात बढाउन र आयातका सवालमा ‘काउन्टरभ्यालिङ र एन्टिडम्पिङ ऐन’ लागू गर्न ढिला भइसकेको छ ।

नेपाल डम्पिङ गर्ने ठाउँ त भएको छैन ? भन्दै उनले ऐनहरू लागू हुन सके ग्राहकले चाहेको र आवश्यकताबमोजिमका मात्र सामग्री आयात हुने बताए । भारतबाट आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै छ । भारतले कच्चा तेल आयात गरी प्रशोधनपछि नेपाललाई बिक्री गर्ने गरेको छ । यस्तै, मेसिनरी तथा फलामजन्य कच्चा पदार्थ, खाद्यान्न तथा सवारी साधन र पार्ट्सलगायतका वस्तु भारतबाट नेपालमा आयात हुन्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल–भारत संयुक्त बिजनेस फोरमका सभापति भवानी राणा दुई मुलुकबीचको व्यापारमा असीमित सम्भावना रहे पनि त्यसअनुसार लाभ प्राप्त हुन नसकेको बताउँछिन् । भारतको ठूलो बजारमा नेपालले निकासीका सम्भावना खोज्न नसकेको तथा बेलाबखत आउने गैरभन्सार अवरोधजस्ता समस्यालाई सम्बोधन गर्न सके केही वर्षमै अहिलेको परिमाणलाई दोब्बर बनाउन सकिने उनको भनाइ छ ।

‘अहिले पनि नेपाल र भारतबीचको व्यापारलाई सरकारी तथ्यांकले पूर्ण रूपमा समेट्न सकेको छैन,’ उनी भन्छिन्, ‘खुला सीमाका कारण भइरहेको अनौपचारिक व्यापारको हिस्सा निकै ठूलो छ, त्यसलाई जोड्ने हो भने भारतसँगको व्यापारको आकार स्वाभाविक रूपमा बढ्छ ।’ भारतले पछिल्लो दशकमा हासिल गरेको उपलब्धिबाट नेपालले लाभ हासिल गर्न राजनीतिक र कूटनीतिक पहल जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्