प्रहरी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

हेटौंडा-हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ मा नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले आइतबार आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० गोलअन्तरले पन्छाउँदै सेमिफाइनलमा स्थानमा बनाएको हो ।
फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पुलिसको जितमा अभिषेक रिजालले दुई र रवि पाश्वानले एक गोल गरेका थिए । अभिषेकले पहिलो हाफको ११ र ४० तथा रविले ५९ औं मिनेटमा गोल गरेका थिए । रविले पहिलो हाफ्मा ‘सिक्स यार्ड बक्स’ भित्रबाट गरेको क्रसमा अभिषेकले ‘वान टच’मै बललाई जालीको सहरामा पुर्याएका थिए । अभिषकले दोस्रो गोल डिबक्स बाहिरबाट देब्रे खुट्टाले प्रहार गरेको बल गोलमा भएको थियो । तेस्रो गोल रविले हेडमार्फत् गरेका थिए । अभिषेकले विपक्षी डिफेन्सलाई छक्याउँदै गरेको क्रसमा रविले हेडमार्फत् गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच पुलिसका अभिषेक घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा प्रतियोगिता भइरहेको छ । खेलपश्चात् प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले ‘टिमवर्क’को कारण जित सम्भव भएको बताए ।हेटौंडाका प्रशिक्षक सुविन घिमिरेले डिफेन्सको कमजोर खेलको कारण हार भएको बताए । प्रशिक्षक घिमिरेले फरवार्डले पनि सोचेअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै आफ्नै खेलाडीको आलोचना गरे । प्रतियोगिताअन्तर्गत् आज सोमबार नेपाल आर्मी र सुदुरपश्चिम ११ बीच खेल हुनेछ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पनि नगद ५० हजार पाउनेछन् ।