नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।
भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौंको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँचतारेमा वर्गीकरणमा परेको विभागले जनाएको छ ।
विभागका अनुसार यससँगै पाँचतारे स्तरको बुटिक लग्जरी होटलको संख्या तीन पुगेको छ । यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए । चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेजलगायत होटल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको छ ।
विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवाप्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो ।
विभागले सार्वजनिक गरेको होटलको वर्गीकरण अनुसार झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ । झापाको विर्तामोडमा सञ्चालित होटल द किङ्सवरी र काठमाडौंको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस)ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् ।
पाँचतारे अन्य होटलमा तारागाउँ रिजेन्सी (हायात रिजेन्सी, सोल्टी होटल, होटल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको (होटल अलफ्ट) छन् । होटल डेल अन्नपूर्ण, द मल्ल होटल, साङ्ग्रिला होटल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा, होटल द किङ्सवरी र इच्छा होटल पाँचतारे वर्गीकरणमा परेका हुन् ।
विभागको विवरणमा चारतारे स्तरका होटलको संख्या ३४ छ । यस्तै, होटल संघ नेपालका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । होटल संघमा देशभरका पाँच हजारभन्दा बढी होटल आबद्ध छन् ।