आधा सहकारी करको दायरा बाहिर «

आधा सहकारी करको दायरा बाहिर

बाग्लुङ-बाग्लुङमा सञ्चालित सहकारी संस्थामध्ये आधाभन्दा बढी करको दायरा बाहिर रहेको पाइएको छ । सरकारले सहकारी संस्था अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गरे पनि बाग्लुङका २ सय ५१ वटा सहाकारी करको दायर बाहिर रहको पाइएको हो ।
डिभिजन सहकारी कार्यालय बाग्लुङका अनुसार कार्यालयमा ४ सय ६९ सहकारी संस्था दर्ता छन् । दर्ता भएका सहकारी संस्थामध्ये हालसम्म करदाता सेवा केन्द्रबाट २ सय १८ सहकारीले मात्र प्यान नम्बर लिएका छन् । प्यानमा दर्ता भएका सहकारीमध्ये पनि आर्थिक वर्ष ०७३-७४ को पुस मसान्तसम्म ५६ वटा सहकारीले कर नतिरेको कर अधिकृत सूर्यप्रसाद चापागाईंले जानकारी दिए । डिभिजन सहकारी कार्यालय र कर कार्यालयबीच समन्वय नहुँदा सहकारीहरू कर कार्यालयमा दर्ता नभएको अधिकृत चापागाईंको भनाइ छ । कर कार्यालयले सबै सहकारीलाई पत्रचार गरी कर कार्यालयमा दर्ता हुन र कर तिर्न अनुरोध गरेको कर अधिकृत चापागाईंले बताए ।
सहकारीहरू दर्ता हुँदा डिभिजन सहकारी कार्यालयले कर कार्यालयमा दर्ता गर्नुपर्ने र कर तिर्नुपर्ने जानकारी गराईदिएमा सहकारीहरू करको दायरामा आउने अधिकृत चापागाईंको भनाई छ । यता, डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले जिल्लामा धेरै सहकारीहरू दर्ता भए पनि निष्क्रिय सहकारीले कर नतिरेको हुनसक्ने दाबी गरे । सहकारीहरूलाई २० प्रतिशत कर लगाइ दिएको र उक्त कर तिर्न नसकिने भन्दै सहकारीकर्मीहरू असन्तुष्टि रहेकाले कर नतिरेको हुनसक्ने शर्माको अनुमान छ । सहकारीहरू दीर्घकालीन लक्ष्यका साथ अगाडि बढ्ने र राज्यको सेवा सुविधा उपयोग गर्न अनिवार्य प्यान लिनुपर्ने सहकारी अभियन्त रामबहादुर जिसीको भनाई छ । “प्यान लिनु सहकारीकै हितमा छ,” जिसीले भने, “राज्यलाई कर तिर्नु सबैको दायित्व हो ।”
आय कर ऐनअनुसार महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका क्षेत्रका बचत तथा ऋण सहकारीले नाफाको २० प्रतिशत आयकर तिर्नुपर्छ । यसैगरी यी क्षेत्रसँग जोडिएका गाउँपालिकाका सहकारीले पनि सोहीअनुसार कर तिर्नुपर्छ । यसैगरी सदस्यहरूको बचतमा प्राप्त हुने ब्याजमा समेत ५ प्रतिशत व्याजकर लाग्छ । सरकारले २०६८ सालबाट सहकारी संस्थाले अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेको थियो ।
त्रिलोचन रिजाल

 

प्रतिक्रिया दिनुहोस्