Logo

जीवन बीमा कम्पनीको झन्डै खर्ब कारोबार

काठमाडौं– चालु आर्थिक वर्षमा अर्थतन्त्र सुस्त रहे पनि जीवन बीमा व्यापार झन्डै ५ अर्बले बढेको छ । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत साउनदेखि फागुन मसान्तसम्ममा साढे ९८ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन् । बीमा प्राधिकरणका अनुसार यो अवधिमा कम्पनीले ९८ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड ६४ लाख रुपैयाँ बढी हो । गत आवको फागुनसम्ममा जीवन बीमा कम्पनीले ९३ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यो तथ्यांकअनुसार जीवन बीमा व्यवसाय गत आवको तुलनामा ५.१२ प्रतिशत बढेको छ । पछिल्लो समय आर्थिक गतिविधिमा सामान्य सुधारका संकेत देखिएसँगै कम्पनीहरूको व्यापारमा पनि सुधार देखिन थालेको हो ।

गत आवको तुलनामा जीवन बीमा कम्पनीको व्यापार बढे पनि वर्षको सुरुवाती समयमा भन्दा बढ्न सकेको छैन । यो अवधिमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) १८ अर्ब ६६ करोड ६१ लाख र नवीकरणमार्फत ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ शुल्क उठेको हो । चालु आवको साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

गत आवको साउनमा यस्तो शुल्क १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ थियो । यो वर्ष साउनको तुलनामा भदौमा बीमा शुल्क घटेको थियो । त्यसपछिका अन्य महिनामा पनि बीमा कम्पनीहरूको व्यवसाय खासै सुध्रन सकेको छैन । तर, गत आवसँग तुलना गर्दा भने व्यवसायमा सुधार आएको छ । अर्थतन्त्रको सुस्तता, बिमकहरूले बीचमै पोलिसी परित्याग तथा उपभोक्ता क्रयशक्ति नै ह्रास भएका कारण जीवन बीमा व्यवसायमा समस्या आएको जानकारहरू बताउँछन् ।

कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क ?
कुल बीमा शुल्क संकलनमा नेपाल लाइफ अगाडि देखिएको छ । आठ महिनामा नेपाल लाइफले कुल २६ अर्ब ३० करोड ३० हजार रुपैयाँबराबरको बीमा शुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । यस्तै गत आवको तुलनामा पनि यसको कारोबार ७.८८ प्रतिशत बढेको छ । दोस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) को देखिएको छ । यो कम्पनीले आठ महिनामा ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तर, गत आवसँग तुलना गर्दा यसकोे व्यापारमा खासै सुधार हुन सकेको छैन । यस्तै तेस्रोमा नेसनल लाइफ परेको छ । यसले फागुनसम्ममा कुल ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । व्यवसाय वृद्धिदरका आधारमा भने नेसनल लाइफ पहिलो सूचीमा छ । कम्पनीको व्यापार गत आवको तुलनामा १३.१० प्रतिशत बढेको छ । यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष सूचीमै छ । कम्पनीको व्यापार गत आवको फागुन मसान्तसम्मको तुलनामा १०.३४ प्रतिशत बढेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसाय वृद्धिका आधारमा भने एसियन र प्रभु महालक्ष्मी लाइफ पनि अगाडि छन् । यो अवधिमा एसियनले १२.३८ प्रतिशतले व्यापार बढाएर ५ अर्ब १५ करोड ८७ लाख पुर्‍याएको छ भने प्रभु महालक्ष्मीको १२.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यस्तै, रिलायबल नेपाल लाइफको व्यापार ११.६५ प्रतिशत, आइएमईको ७.७६ प्रतिशत, मेट लाइफको ७.१७ प्रतिशत, सिटिजनको ४.३५ प्रतिशत र सूर्यज्योतिको ४.०१ प्रतिशतले बढेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापारमा भने २२.३७ प्रतिशत गिरावट देखिएको छ । गत आवको फागुन मसान्तसम्ममा यो कम्पनीले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यसको व्यापार ५ अर्ब २३ करोड रुपैयाँमा झरेको छ । यस्तै सन नेपाल लाइफको व्यापारमा पनि ४.४२ प्रतिशत कमी आएको छ । फागुनसम्ममा सन नेपालले कुल २ अर्ब ४७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्