नेकपा चियापानमा उत्साहजनक सहभागिता «

नेकपा चियापानमा उत्साहजनक सहभागिता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वको अवसरमा बुधबार काठमाडौंमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारी उच्चपदस्थ पदाधिकारीहरु, नेकपाका नेता–कार्यकर्ता, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।
कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताए । “हाम्रो देश हामीले नै बनाउने हो, कानुनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ भएको भन्दै तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्ने बताए । उनले भने, “जनताका लागि धेरै काम भएका छन् । जस्तै– बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण आदि ।”
प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक रुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता रहेको बताए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताए । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।
चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्ठित होइन, भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे । अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्दै यो भ्रमणको धेरै आयाम रहेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताए । सभापति देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि धारणा राखे ।
विपी कोइरालाले दसंैको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा उनले आभार पनि व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्